काठमाडौँ – चितवनको भरतपुरमा धुर्मुस-सुन्तली फाउन्डेसनले बनाउने अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशाला बनाउन लगाएको घेरबार स्थानीयले तोडेपछि फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ आक्रोश व्यक्त गरेका छन् ।


ADVERTISEMENT


उनले साढे चारमहिनासम्म स्थानीयसंग छलफल गरेको र उनीहरुका मागका विषयमा फाउण्डेसन र भरतपुर महानगरपालिका सकारात्मक रहदा पनि आफ्नै आँखा अगाडि बार भत्काइएको भन्दै दुःख व्यक्त गरे । निकै भावुक हुँदै उनले आफूले यो भन्दा कहालीलाग्दो दृश्य नदेखेको बताए ।


ADVERTISEMENT

# # #


‘एकाबिहानै स्थानीय र केही अराजक समूहले यस्तो घटना घटाएको छ । आफ्नै आँखा अगाडि जुन घटना घट्यो, योभन्दा कारुणिक दृश्य मैले जीवनमा देखेको छैन ।’ उनले भने, ‘यसअघि पनि काम गर्दा कठिनाइ नआएको होइनन्, तर यस्तो भएको थिएन ।’ सडक निर्माणका लागि केही जग्गा छाड्नुपर्ने स्थानीयका मागका विषयमा छलफल गरेर स्थानीयको सहमतिमै बार लगाएको उनले जानकारी दिए । विदेशमा रहेका युवाहरुको सहयोगबाट काम अगाडि बढेको भन्दै उनले उनीहरुको पसिनामाथि डोजर चलाइएको बताए ।

सम्बन्धित समाचार
– धुर्मुस–सुन्तलीले बनाउने क्रिकेट रंगशालाको घेरबार स्थानीयले भत्काए

‘विदेशमा बस्ने नेपाली, जसले हामीलाई यतिधेरै सद्भावका साथ सहयोग गर्नुभएको छ । उहाँहरुको पसिनामाथि डोजर चलाइयो यहाँ ।’ आँशु पुच्छ्दै उनले भने, ‘सबै चिज त्यागेर केही गर्न भनेर हामी यहाँ आएका थियौँ ।’ राजनीति आडमा नियोजित किसिले प्रहार गर्ने र फाउण्डेसनका कर्मचारीहरुलाई धाकधम्की दिने काम समेत गरेको उनले जानकारी गराए ।

‘उहाँहरु हाम्रा कर्मचारीलाई थर्काएर यति कमिसन चाहियो भन्ने, यति हाम्रो मान्छे काम गर्न हाल्नुपर्यो भन्ने, हाम्रो मेसिन चल्नु पर्यो भनेर धम्की पटकपटक भइरहेका थिए ।’ भक्कानिँदै उनले भने, ‘देशका लागि केही गरौँ भनेर अगाडि बढिरहँदा यस्ता प्रहार हुने एकदमै दुःखद हो ’