सहदेव धमला काठमाडौं इको होटलका प्रबन्ध निर्देशक हुन् । उनलाई विमल धमला भनेर चिन्नेहरु पनि धेरै छन् । छोटो समयमा व्यवसायिक सफलता हासिल गर्ने कमै व्यवसायीहरु मध्ये उनी एक हुन् । पर्यटन सम्वद्ध धेरै संस्थामा आवद्ध उनी सामाजिक र शैक्षिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय छन् । ठमेल पर्यटन विकास परिषद्को एक कार्यकाल कार्यसमिति सदस्यमा रहेर काम गरेका उनी आगामी जेठ २५ गते हुन गइरहेको परिषद्को निर्वाचनमा महासचिव पदबाट उम्मेद्वार बन्दैछन् । उनै धमलासंग चुनावी तयारी र भावी योजनाका बारेमा गरिएको कुराकानीको सम्पादित अंश : 


ADVERTISEMENT


ठमेल पर्यटन विकास परिषद्को निर्वाचन नजिकिँदैछ । तपाई केमा उम्मेदवारी दिँदै हुनुहुन्छ ? तयारी कसरी भइरहेको छ ?


ADVERTISEMENT

# # #


हामी अहिले छलफलकै चरणमा छौं । परिषद्को निर्वाचनमा महासचिवको उम्मेद्वार हुने मेरो चाहना थोरै हो ।  यसमा ठमेलवासी र व्यवसायीको पनि साथ रहेको छ । एक चरणको छलफलबाट मलाई महासचिवको उम्मेद्वार बनाउने अग्रज पर्यटन व्यवसायीहरुको चाहनालाई मैले स्वीकार गरेको छु । सो बमोजिमको गृहकार्य थालेको छु । केही भिजन र एजेन्डाहरु कोर्न थालेको छु ।

के के छन् त्यस्ता भीजन र एजेन्डाहरु ?

परिषद्मा रहेर धेरै काम गर्नु छ । जसमध्ये मेरो चाहना भनेको ठमेल आसपासमा रहेका सम्पदाहरु जस्तैः ठैब, बहाल, हटीलगायतका क्षेत्रहरु जो ओझेलमा परे । तिनीहरुको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ भन्ने हो । जसले ठमेललाई ठमेल बनायो र चिनायो त्यही कुरा अहिले गुमनाममा छ । सो क्षेत्रको प्रवर्द्धन गर्नुपर्छ भन्ने लाग्छ । पर्यटकीय क्षेत्र ठमेललाई ‘ग्रेटर ठमेल, बेटर ठमेल’ बनाउने मेरो सोच रहेको छ ।

अर्को कुरा, परिषद्मा गएपछि मैले वार्षिक क्यालेन्डर बनाएर काम गर्ने योजना बनाएको छु । यहाँ रहेका सरकारी निकाय, व्यवसायी, घरधनी र निजी क्षेत्रसँग नियमित रुपमा अन्तक्रिया गर्ने र उनीहरुको समस्याको समाधान गर्ने हो । जसबाट ठमेलका ८० प्रतिशत समस्याहरु समाधान गर्न सकिन्छ ।

ठमेललाई काठमाडौँ उपत्यकाको पर्यटकीय नगरी भनेर चिनिन्छ । तर, यहाँ विकृतिहरु थुप्रै रहेका छन् । तिनलाई कसरी समाधान गर्नुहुन्छ ?

यहाँ रहेका अनाधिकृत गतिविधिहरु जस्तैः यौनजन्य कृयाकलाप, लागू पदार्थ दुर्व्यसनीहरु, ह्याकरहरु आदिको समस्या समाधान गर्ने मेरो प्राथमिकताको काम हुन्छ । आकस्मिक तथा आपत्कालीन रुपमा आइपर्ने समस्याको उद्धार गर्ने कामहरुमा ठमेल पछाडि छ । त्यसैले एउटा आपत्कालिन उद्धार टोली निर्माण गरी यहाँ हुने झैझगडा, आगलागी, दुर्घटना तथा अन्य अपर्झट आउने समस्याहरु तत्काल समाधान गर्न मेरो पहलकदमी हुनेछ । यसका साथै ठमेलमा देखिएका लथालिंङ्ग तारहरुलाई व्यवस्थित गर्ने, अव्यवस्थित होर्डिङ हटाउने, एप्स बनाउने र ‘जियो म्यापिङ’ गर्ने तथा यसलाई ‘वाईफाई फ्री जोन’को रुपमा विकास गर्ने मेरो सोच छ ।

परिषद्ले आफ्ना सदस्यहरुलाई अपनत्वबोध गराउन सकेन भन्ने गुनासो बढ्दै छ नि ?

मेरो अर्को मुख्य एजेन्डामा यो पनि छ । परिषद्को खस्कँदो गरिमालाई उच्च बनाउने र सदस्यहरुको आकर्षण बढाउने जिम्मेवारी पनि हामी लिन्छौं । परिषद्लाई मेरो परिषद् हो भन्ने अपनत्वबोध हामी सदस्यहरुलाई गराउने गरि काम गर्छौं । जसमा, मासिक रुपमा परिषद्मा भएका निर्णय, कामकारबाही र प्रगतिका विषयमा हामी सदस्यहरुलाई जानकारी गराउँछौं । सँगै, परिषद्मा आवद्ध सदस्य तथा व्यवसायीहरुको व्यवस्थापकीय व्यवसायिकता र बजारीकरणमा क्षमता अभिवृद्धि गर्ने काम पनि हामी गर्छौं ।

निर्वाचनमा जाने तपाईंको टीम कस्तो हुन्छ ?

बौद्धिकताका हिसाबले क्षमतावान् हुन्छ । हामीजस्ता युवा व्यवसायीहरुको उल्लेख्य सहभागिता, कामले खारिएका व्यक्तिहरु, परिषद्को मर्म र भावना अनुरुप काम गर्न सक्ने र ठमेलवासी व्यवसायी तथा स्थानीयहरुको पीरमर्का बुझ्न सक्ने व्यक्तिहरु हाम्रो समूहमा हुन्छन् । समावेशीताको हिसाबले महिला, जातजाति, क्षेत्रगत तथा व्यवसायगत सबै खालको व्यक्तिहरु हाम्रो समूहमा रहन्छन् ।

तपाईको टिमको नेतृत्व कसले गर्छ ?

परिषद्लाई नेतृत्व गर्न इच्छुक केही व्यक्तिहरु छलफलमा देखिन्छन् । उनीहरुसँग सरसल्लाह भइरहेको छ । हामीले एउटा वार्ता टोली गठन गरेर सल्लाह गरिरहेका छौं । सक्षम, अनुभवी, ठमेललाई समय दिन सक्ने र काम गर्न सक्ने व्यक्तिकै नेतृत्वमा हामी निर्वाचन प्रकृयामा जाँदैछौं । सम्भवतः वार्ता टोलीले सर्वसम्मत गराउने भन्ने नीति पनि लिएको छ । त्यो भयो भने झनै सुखद् हुनेछ ।

भनेपछि तपाईं महासचिवमा उठ्ने करीब पक्कापक्की हो ?

यसमा कुनै द्विविधा छैन । सकेसम्म सर्वसम्मत गराउन प्रयास गर्नेछौं । यदि भएन भने एउटा ठूलो समूहले मलाई अगाडि बढ्न सुझाव दिइसकेको छ । जसको लागि परिषद्का पूर्व अध्यक्षहरुसँग पनि मैले छलफल गरिसकेको छु र सोही अनुरुप मैले तयारी पनि थालिसकेको छु ।