काठमाडौं – थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घट्नापश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाई फसाँईएका थरुहट राजबन्दीहरुलाई सरकारले मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीहरुलाई निःशर्त रिहाई गर्नुपर्ने माग गरेको छ ।


ADVERTISEMENT


समितिले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो । समितिले टीकापुर घट्नाबारे सत्य, तथ्य छानबिन गर्नका लागि तात्कालीन नेपाल सरकारले पूर्वन्यायाधीश गिरिश चन्द्र लाल दास नेतृत्वको न्यायिक समिति, सर्वदलीय संसदीय समिति र राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनहरु तुरुन्त सार्वजनिक गर्नुपर्ने पनि माग राखेको छ ।


ADVERTISEMENT

# # #


कार्यक्रममा थरुहट नेता लक्ष्मण थारुले आफू ४२ महिना लामो जेल जीवनपछि पहिलोपटक मिडियामा आएको सुनाउँदै आफूहरु फेरि मर्न तयार भएर शान्तिपूर्ण आन्दोलनमा जुटेको बताए ।

‘हामीलाई झुठा मुद्दा लगाएर ४२ महिनासम्म जेल राखियो, अझैपनि हाम्रा धेरै साथीहरु जेलमै छन् ।’ उनले भने, ‘अब हामी फेरि मर्न तयार भएर शान्तिपूर्ण आन्दोलनमा जुटेका छौं ।’ उनले आफूहरुको घर, पसलमा आगो लगाईएको र उल्टै राज्यबाट झुठा मुद्दा खेप्नु परेको पीडा पनि पोखे ।

टीकापुर घट्नाबारे लाल आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न माग गर्दै उनले आफूहरुले कुनैपनि हालतमा ७ वटा प्रदेश नमान्ने घोषणा गरे । ‘अखण्ड सुदुर पश्चिम माग्नेले त्यही पाए, मधेश प्रदेश माग्नेले पनि पाए, किराँतहरुले पाउँदैछन्, हामी थारुहरुले किन नपाउने ?’ उनले । आगामी भदौ ७ गतेबाट देशभरिका पाँच लाख थारुहरु उतारेर सम्मेलन गर्ने पनि थारुको भनाई छ ।

कार्यक्रममा थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक मिनराज चौधरीले नेपालमा रहेका सबै क्षेत्रका वर्ग, समूदायका मागहरु पूरा गर्नुपर्नेमा जोड दिए । उनले आफूहरुले उठाएका जायज मागहरु समयमै सम्बोधन गर्नुपर्ने पनि माग गरे ।

समितिले थुरुहट संयुक्त संघर्ष समिति र नेपाल सरकारबीच मिति २०६५ चैत्र १ गते भएको ६ बुँदे सम्झौता र थारु संयुक्त संघर्ष समितिबीच मिति २०८९ जेष्ठ १० गते गरिएको १० बुँदे सम्झौताको अक्षरशः अविलम्ब कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेको छ । आफूहरुले अघि सारेको माग पूरा नभए चरणवद्ध रुपमा संघर्षमा उत्रिनेपनि समितिले घोषणा गरेको छ ।

समितिले आगामी संघर्षको बाटो तय गर्नको लागि देशै भरिका थरुहटको सहभागितामा यही जेठ १८ गते काठमाडौंमा ‘थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिको’ भेला पनि सम्पन्न गरेको जानकारी दिएको छ ।