काठमाडौँ –  सन् २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपको एशिया क्षेत्र छनोट प्रतियोगिताका लागि २५ सदस्यीय प्रारम्भिक नेपाली टोली घोषणा गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, कप्तान पारस खड्का र मुख्य प्रशिक्षक उमेश पटवालले प्रारम्भिक टोली घोषणा गरेका हुन् ।


ADVERTISEMENT


पारस खड्काको कप्तानीमा छनोट गरिएको टोलीमा केही नयाँ अनुहार रहेका छन् ।  २५ जनालाई क्याम्पमा राखेर उत्कृष्ट टोली छनोट गरिनेछ । नेपाली टिमको क्याम्प असार ५ बाट सुरु हुनेछ ।


ADVERTISEMENT

# # #


प्रारम्भिक टिममा पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, सोमपाल कामी, विनोद भण्डारी, सन्दिप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदिप ऐरी र रोहितकुमार पौडेल रहेका छन् ।

यस्तै गत जनवरीमा पहिलो पटक स्थान पाएका भिम शार्की, पवन सर्राफ, सन्दिप जोरा र अभिनाश बोहोरा पनि टिममा अटाएका छन् । यस्तै अमित श्रेष्ठ, राजु रिजाल, जितेन्द्र मुखिया, कुशल भुर्तेल, ललित भण्डारी, नन्दन यादव, साहव आलम र शुसन भारी प्रारम्भिक २५ सदस्यीय टोलिमा परेका छन् ।

एशिया छनोट आगामी जुलाई २२ देखि २८ सम्म सिंगापुरमा हुँदैछ । जसमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत गरी ५ टिम रहेका छन् ।

एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ । यूएई भने ग्लोबल छनोटको अयोजना गर्ने भएपछि उसले एसिया छनोटको फाइनल राउण्ड नखेल्ने भएको हो । उसले स्वतः ग्लोबल छनोटमा स्थान बनाएको छ ।