विराटनगर – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका लाल चौधरीको अभिव्यक्तिलाई लिएर चौतर्फ विरोध भएको छ । उनको अभिव्यक्तिले प्रदेश सभामा पनि स्थान पाएको छ ।


ADVERTISEMENT


प्रदेश नं १ को प्रदेशसभाको शुक्रबारको बैठकमा कांग्रेसकी सांसद बिन्दिया कार्कीले चौधरीले महिलाको कार्यक्रममा महिलाप्रति दिएको अभिव्यक्ति निन्दनीय भएको बताइन् । साथै उनले प्रदेशसभाको गम्भीर ध्यानाकर्षण गराउँदै मेयर चौधरीले पत्रकारमाथि आक्रमण गर्दा केही कारबाही नभएपछि त्यहीआँट पाएर महिलामाथि अभद्र शब्द प्रयोग गरेको बताइन् ।


ADVERTISEMENT

# # #


उनले भनिन्, ‘‘पत्रकारको कठालो समाएर जथाभावी बोलेर गुन्डागर्दीमा उत्रिएका थिए । त्यो हेर्दाहेर्दै सरकारले कुनै किसिमको भूमिका निर्वाह गरेन । फेरि आँट पाएर महिलाकै चरित्र हत्या गर्ने काम गरे ।’’

‘‘त्यो शब्द म यहाँ प्रदेशसभामा उच्चारण गर्न सक्तिनँ । मैले अरुको मुखबाट अहिलेसम्म सुनेको छुइनँ, तर मेयरले बोले । सरकार किन हो चुप ? डामेर छाडेको साँढे हो मेयर चौधरी ? नेकपामा आउने युवक युवतीले अब यही हेरेर आउने हो ?’ उनले प्रश्न गरिन्, ‘यो पार्टीमा आउँदा जे बोल्न र गर्न पाइन्छ भन्ने भावनाको विकास भएको छ । यसको जिम्मा नेकपाले लिनुपर्छ । नत्र के गर्ने हो ? कि भन्नुपर्यो हाम्रो नीति त्यही हो । कि त मेयर चौधरीलाई पागलखानामा भर्ती गर्नुपर्यो । नत्र कठालोमा समाएर महिलाले घिसार्नुपर्छ ।’’

एउटा सार्वजनिक कार्यक्रममा मेयर चौधरीले महिलालाई ‘र*डी’ भन्ने शब्द प्रयोग गर्दै ‘र*डीकै कारण पिल्स, लिपिस्टिक र कन्डम’ बिक्ने गरेको अभिव्यक्ति दिएका थिए ।