काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै नेता पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भैरहेकोले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली हुनसक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


नेता पौडेलले पार्टी एकता गर्दा नै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएको सुनाउँदै सोही सहमतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामी एकताको पक्षमा छौं । एकता रहरको लागि गरिएको होईन । त्यसैले विगतमा भएका सहमति ईमानदारिताका साथ कार्यान्वयन गर्नुपर्छ ।’

उनले वर्तमान सरकार पाँच वर्षसम्मको लागि निर्वाचित भएकोले तत्काल स्थानीय, प्रदेश र संघमा सरकार फेरबदल हुने अवस्था नरहेको पनि जिकिर गरे । यद्धपी संघीय सरकार भने पार्टीको निर्णयका आधारमा फेरबदल गर्न सकिने उनले स्पष्ट पारे ।

सरकारको काम सुशासनको क्षेत्रमा अझै राम्रो हुनुपर्ने भनेर जनस्तरबाटै गुनासो आईरहेको सुनाउँदै त्यसप्रति सरकार गम्भीर बन्नुपर्ने उनको सुझाव थियो । उनले भ्रष्टाचार न्यूनिकरणको लागिपनि त्यस्तै गम्भीर पहलकदमी चाल्नुपर्ने बताए ।

पौडेलले गुठी विद्येयकलगायतका अन्य कुनैपनि विद्येयक खारेज नभएको सुनाउँदै तत्कालको लागि स्थगन गरिएको पनि स्पष्ट पारे । उनले संघीय संसदबाट बजेट पारित भएको सुनाउँदै आजबाट देशैभरिका ७५३ वा गाउँपालिकाहरुले बजेट बनाउने पनि सुनाए ।

सरकारको कामकारबाही अहिले नै मापन गर्न नसकिने बताउँदै कम्तिमा पनि बजेट कार्यान्वयन भएपछि मापन गर्न सकिने उनको भनाई छ ।