खगेश्वरी कार्की, काठमाडौं – सरकारले हचुवाको भरमा विदेशी टिभि च्यानल विज्ञापनरहित (क्लिनफीड) लागु गर्न लागेको भन्दै केबल टिभी सेवा प्रदायकहरुले व्यवसाय नै बन्द गर्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लबमा साक्षात्कार गर्दै केबल टिभी सेवा प्रदायकहरुले  सरकारले ल्याउन लागेको विज्ञापन नियमन सम्बन्धि विधेयकले नेपालमा केवल व्यवसाय नै धराशयी हुने चिन्ता व्यक्त गरेका  हुन् । ईन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यको जिम्मेवारी आफूहरुले वहन गरिरहेको अवस्थामा सरसल्लाह र छलफल नै नगरी ‘क्लिन–फिड’ लागु गर्न लागेको आरोप लगाए ।


ADVERTISEMENT

# # #


‘यही अवस्थामा यो विद्येयक कार्यान्वयन भए सम्पूर्ण व्यवसाय नै धराशयी बन्छ । सरकारले हचुवाको भरमा कुनै गृहकार्य नै नगरी यो नीति ल्याएको हो ।’ उनले भने, ‘राष्ट्रिय प्रशारण ऐनमार्फत आउनुपर्ने कुरा विज्ञापन ऐनमार्फत ल्याउन खोजियो । यसो गर्नु भनेको भएको उद्योग नै धराशीय बनाउनु हो ।’

उनले सरकारले ‘भिजिट नेपाल २०२०’ मनाउन गैरहेको अवस्थामा धेरै भन्दा धेरै विदेशी च्यानलमार्फत प्रचारप्रसार गर्नुपर्ने बेलामा उल्टै बन्द गराउन खोज्नु दुःखद् भएको पनि टिप्पणी गरे । सुवेदीले विदेशी विज्ञापनको ठाउँमा नेपाली विज्ञापन बजाउने हो भने आफुहरुलाई कुनै आपत्ति नहुनेपनि जिकिर गरे । ‘क्लिन–फिड’ लागु भए नेपालका लोकल मिडिया पनि बन्द हुने अवस्था आउनसक्ने उनले खतरा औंल्याए ।

सरकारले जतिसक्दो चाँडो आफूहरुसँग वार्ता तथा सम्वाद गर्नुपर्ने उनको भनाई छ ।

डिस होमका प्रवन्ध निर्देशक सुदिप आचार्यले क्लिन फिड विश्वभरि छ भनेर हौवा फैलाईएको दाबी गरे । क्लिन फिड लागु भए नेपाली च्यानलमात्रै हेरेर आफूहरुले केवल सञ्चालन गर्न नसक्ने उनको दाबी छ । उनले भने, ‘यदि यो विधेयक कार्यान्वयन भए हामी साँचो लगेर सरकारलाई बुझाउँछौं ।’ व्यापार गर्न नसके आफूहरुले बन्द गर्ने पनि उनले चेतावनी दिए ।

नेपाल केवल टेलिभिजन महासङ्घका अध्यक्ष सुधिर पराजुलीले विज्ञापन विधेयक अव्यावहारिक रहेको बताए । उनले केवल टिभी प्रसारण गर्ने राष्ट्रिय नीति हुँदाहुँदै विज्ञापन ऐनअन्तर्गत राखेर विधेयक किन ल्याईयो भन्दै प्रश्न समेत गरे । ‘यदि यो विधेयक संसदबाट पारित भई ऐनका रूपमा आयो भने हाम्रो अरवौंको लगानी डुब्छ र हामीले व्यवसाय बन्द गर्नुपर्छ’ उनले भने ।

कार्यक्रममा सशुल्क च्यानल वितरकका ध्रुब शर्माले क्लिन फिड लागु गर्नेबारे सरकारको तयारी नपुगेको सुनाए ।

विधेयकको विरोधमा सोमबार दिउँसो बजेदेखि २४ घण्टाका लागि विदेशी च्यानल बन्द गरिएको थियो । शर्माका अनुसार त्यो बन्दको रिहर्सल मात्रै थियो । ‘हामीले विदेशी च्यानलहरु बन्द हुँदा उपभोक्तामा कस्तो असर पर्छ भनेर हामीले फिडब्याकमात्रै लिएका हौं ।’ उनले भने, ‘तर, कतिपय मिडियाले उक्त रिहर्सललाई दादागिरीको संज्ञा दिएपनि वास्तविकतामा त्यस्तो होइन ।