काठमाडौँ– सिंगापुरमा जारी आइसिसी उन्नाइस वर्षमुनि (यु १९) विश्वकप छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल अफगानिस्तानसंग रनले पराजित भएको छ । यससंगै नेपालको विश्वकप खेल्ने सपना पनि तुहिएर गएको छ ।


ADVERTISEMENT


सिंगापुरको इन्डियन एसोसियसन ग्राउन्डमा १९६ रनको लक्ष्य पाएको नेपालले ४०.६ ओभरमा सबै विकेट गुमाउँदै १०० रन मात्र बनायो । दुई अंकले पछि परिसकेको नेपाललाई विश्वकपमा स्थान बनाउन अफगानिस्तानमाथि निकै ठूलो अन्तरको जित निकाल्नु पर्ने थियो । तर, नेपालले ठूलो अन्तरको हार पो ब्यहोर्‍यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सार्वाधिक ४८ रन बनाए ।  ५.२ ओभरमा १० रन हुँदा नेपालले पहिलो विकेटको रुपमा सन्दिप सुनारलाई व्यक्तिगत ६ रनमा गुमायो । त्यसको अर्को ओभरमा आशिफ शेख पनि २ रनको स्कोरमा आउट भए ।


ADVERTISEMENT

# # #


तेस्रो नम्बरका प्रनित थापामगरले खाता खोल्नै सकेनन् भने अनिल साह पनि ६ रनमै आउट हुँदा नेपालले १०.४ ओभरमा २३ रन जोड्दा चार विकेट गुमाइसकेको थियो । १७औं ओभरमा नेपालले पाँचौं विकेटका रुपमा रोहित कुमार पौडेललाई गुमायो, उनले ३ रनमात्र टिमको खातामा थप्न सके ।

पाचौं नम्बरमा आएका दिपेन्द्रले पवन सर्राफसँग मिलेर छैटौं विकेटका लागि ५१ रनको अर्धशतकीय साझेदारी गरेका थिए । ३३।२ र ३४।६ ओभरमा क्रमसः पवन सर्राफ १० र दिपेन्द्र सिंह ऐरी ४८ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपालको स्कोर ८५ भयो ।

त्यसपछि आएका विकेटकिपर ब्याट्सम्यान प्रकाश केसीले पनि १० रनमात्र बनाए । नेपालका कप्तान सन्दिप लामिछानेले २ र शाहव आलमले अविजित २ रन बनाए ।

यता टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १९५को योगफल बनायो । अफगानिस्तानका लागि ओपनर इब्राहिम जद्रानले ११४ बलमा पाँच छक्का र सात चौका प्रहार गर्दै १०१ रनको योगदान दिए । यही नै जितको प्रमुख आधार बन्यो ।

त्यस्तै इक्रम अल खलिलले २४ रन जोडे । जद्रानले खलिलसँग मिलेर ७४ रनको साझेदारी गरेका थिए । अफगानिस्तानका अर्का ओपनर नवीद ओबेदले २२ रन जोडे भने अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि साहब आलमले ४ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ३ तथा कप्तान सन्दस्प लामिछाने र पवन शर्राफले एक एक विकेट हात पारे । डबल राउण्ड रोबिन लिगका आधारमा भएको उक्त प्रतियोगिताअन्तर्गतका यसअघि भएका पाँच खेलमा नेपालले चार खेल जितेको थियो ।

प्रतियोगितामा यसअघिको खेलमा पनि नेपाल अफगानिस्तानसँग पराजित भएको थियो । विश्वकपमा आफनो स्थान सुरक्षित गर्न नेपालले अफगानिस्तानलाई फराकिलो रन अन्तरले पराजित गर्न नसक्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताको शीर्ष स्थानमा रहेको अफगानस्तान विश्वकपका लागि छनोट भएको छ।