काठमाडौं– नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी गरी ‘एनटी सूचनाको संसार’ सेवा आजबाट उपलब्ध गराएको छ । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिन्छ ।


ADVERTISEMENT


नेपाल टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिन्छ । यसरी कल गर्दा मोबाइल प्रयोगकर्ताहरु नेपाली भाषाको माध्यमबाट सूचनाको संसारमा जोडिन सक्छन् । यसको माध्यमबाट कृषि, स्वास्थ्य, समाचार, मौसम र विपत् तयारी जस्ता विषयमा आवश्यक जानकारी लिन सकिन्छ ।


ADVERTISEMENT

# # #


सार्वजनिक सेवाका लागि आवश्यक यस सम्बन्धी विभिन्न जानकारीहरु भियामोले विभिन्न विशेषज्ञहरुको सहयोगमा तयार पारेको हो । यसमा नेपाल सरकारका विभिन्न मन्त्रालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विशेषज्ञहरु समेत संलग्न छन् ।

विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले यो सेवाबाट कुनै पनि उमेर समूहका साक्षर वा निरक्षर सबै नेपाली लाभान्वित हुने विश्वास गरिएको छ । निकट भविष्यमा सुशासन र आर्थिक साक्षरतालगायतका थप शीर्षकहरु समेत यसमा समावेश गरिने छ ।

यो सुविधा हाललाई ६ महिनाको लागि निःशुल्क उपलब्ध गराइएको छ ।