काठमाडौं – नारायणगढ मुग्लिन सडकखण्डका सात स्थान पहिरोका कारण जोखिममा रहेका छन् । ती स्थानमा पहिरो रोक्ने काम वर्षात् अगाडि नहुने भएपछि यात्रा जोखिमपूर्ण बन्ने भएको छ । गत वर्ष मात्र सडक चौडा गर्न भित्तो काटिएका र कमलो माटो भएका ती क्षेत्रमा पानी पर्नासाथ लेदो बगेर सडक अवरुद्ध हुन शुरु गरेको छ ।


ADVERTISEMENT


नारायणगढ–मुग्लिन सडकखण्डका इञ्जिनीयर शिव खनालका अनुसार गाईघाट, घुमाउने, भालुढुङ्गा, जलविरे, चारकिलो, टोपेखोला र कालीखोला पहिरोको हिसाबले जोखिमपूर्ण छन् । खनालले चारकिलो र टोपे खोला पहिरोको दृष्टिले उच्च जोखिममा रहेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


चारकिलोमा साना चट्टान रहेकाले जति झ¥यो त्यति डाँडाले आफ्नो आकार लिने अवस्था रहेको छ । सो स्थानमा गत वर्ष धेरै पहिरो खसेर प्राकृतिक भिरालो बन्ने क्रममा रहेको भए पनि यस वर्ष अझै पहिरो झर्ने देखिएको खानालको भनाइ छ । टोपेखोलामा पहाडको भित्तो उल्टो परेर झुण्डिएको अवस्थामा रहेकाले पानीले गलेसँगै जुनसुकै बेला झर्ने खतरा रहेको छ ।

ती स्थानमा वर्षात् अघिनै पहिरो रोक्ने काम गर्नुपर्नेमा ढिलासुस्ती भएका कारण अझै काम शुरुआत गर्ने टुङ्गो लागेको छैन । खनालले वर्षात्पछि मात्र पहिरो रोक्ने काम अघि बढ्ने बताए । सडक निर्माणका क्रममा ठेक्का पाएका तीन कम्पनीलाई आगामी साउन २५ गतेसम्म पहिरो पन्छाउनुपर्ने जिम्मेवारी छ । त्यसपछि आयोजनाले आफैँ व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

आयोजनाले पहिरोको जोखिम हुने भएकाले पानी परेको समयमा सतर्कता अपनाएर आवागमन गर्न सुझाव दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो पन्छाउनका लागि मुग्लिन र जुगेडीमा डोजरसहितको प्रहरी टोली तयारी अवस्थामा राखेको जनाएको छ । गत वर्षहरुमा वर्षात्को समयमा घण्टौँसम्म यात्रुले सडकमा बिताउनुपर्ने बाध्यता भए पनि त्यो अवस्था भने हटेर गएको छ । यस सडक हुँदै दैनिक १० हजार हाराहारी सवारीसाधन आवागमन गर्ने गर्दछन् । रासस