नारायण अधिकारी, चितवन – मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षात् शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ ।


ADVERTISEMENT


यो मौसममा हरेक दिनजसो त्यस्ता बिरामी आउने गरेको पौडेलले जानकारी दिए । अहिले अस्पतालको सघन उपचार कक्षमा दुई जना बिरामी छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


वर्षा शुरु भएसँगै जङ्गलमा च्याउ उम्रने र त्यही च्याउ तरकारीको रूपमा प्रयोग गर्दा विषाक्त भई कतिपयको ज्यानै जाने पौडेलले बताए । अस्पतालको सघन उपचार कक्षमा यस्ता बिरामी लामो समय राख्नुपर्ने बाध्यता हुन्छ ।

अस्पतालका वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी सबै च्याउ सामान्य नभएर विषालु हुने बताउनुहुन्छ । विशेषगरी वनको च्याउ बढी विषालु हुने र तिनमा विष देखिने गर्दछन् । त्यस्ता च्याउमा हरेक वर्ष हरेक समय फरक फरक विष देखिने गरेको अधिकारीको भनाइ छ । च्याउको जात सामान्यतया झट्ट हेर्दा उस्तै उस्तै हुने हुनाले कुन बढी विषालु हो र होइन भनेर मानिसलाई छुट्याउन कठिन हुने उनले बताए ।

जानकारीको अभावमा कुन च्याउ विषाक्त हो भनेर पहिचान गर्न नसक्दा समस्या देखिने गरेको छ । अधिकारीले भने, “यिनीहरुमा पहिलेनै तयारी विष हुन्छ, ती कीटाणु होइनन् ।” यिनीहरुले सोझै शरीरको कलेजो, मिर्गौला र आन्द्रामा असर गरेर अचानक पखाला लाग्ने, बान्ता हुने, रक्तचाप घट्ने, पिसाब कमी भएर मिर्गौलाले काम नगर्ने, जण्डिस देखिने, मुटुको धड्कन कम हुनेजस्ता लक्षण देखिने उनको भनाइ छ ।

विषालु च्याउ खाएर अस्पताल आउने बिरामीमा विषलाई सिधै कम (न्यूट्रलाइज) गर्ने पदार्थ नहुने हुनाले उनीहरुलाई सहयोग गरेर जुन अङ्गमा असर छ त्यसलाई औषधि प्रयोग गरी जोगाउनुपर्ने उनी बताउँछन् । विष रोक्ने औषधि नहुने भएकाले त्यसले शरीरका कुन अङ्गलाई असर गरेको छ त्यही अङ्गको उपचार गर्नुपर्ने उनको भनाइ छ ।

अधिकारीले समाजमा यस्ता खालका च्याउहरु पखालेर, उमालेर खायो भने विष जान्छ भन्ने भ्रम रहेको भन्दै यस्तो भ्रमबाट मुक्त हुन सुझाव दिए । च्याउलाई उमाल्दैमा विष नजाने उनको भनाइ छ । पहिले हल्का हल्का विष लाग्यो भने अरु केहीले होला भन्ने सोचेर पुनः च्याउ खाने प्रचलन रहेको भन्दै यस्तो गर्न नहुने उनको सुझाव छ ।

अधिकारीले एउटै ढुसीमा पछि पनि विष कडा खालको बन्ने गरेको बताए । वनको च्याउ नचिनी नखान र थाहा नपाई खाइहालेमा तत्काल अस्पताल पुग्नुपर्ने अधिकारी बताउँछन् । उनका अनुसार च्याउ खाएको छ घण्टाभित्रमा अस्पताल आएमा ९० प्रतिशत बच्छन् भने दुई दिनपछि आउँदा ४० प्रतिशतलाई मात्र बचाउन सक्ने अधिकारीको भनाइ छ ।

जिल्लाको ग्रामीण क्षेत्र रहेको इच्छाकामना गाउँपालिकाका प्रमुख गीता गुरुङले च्याउ खाएर बिरामी पर्ने अधिकांश ग्रामीण तथा दुर्गम भेगका हुने गरेको बताए । आर्थिक अभावका कारण दैनिक छाक टार्ने क्रममा पोषिलो खाना खोज्दै गर्दा च्याउलगायतका वनका कन्दमूल खान बाध्य हुने अवस्था रहेको छ । गुरुङले च्याउ किनेर मात्र खान अनुरोध गरिएको जानकारी दिए । उनले भुईंच्याउ खानै नहुने बताए । रासस