काठमाडौँ – बीमा रकम पाउनका लागि आफ्नै छोरी ४ वर्षीया लक्ष्मी कुमारी यादवको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । रौतहटको मौलापुर नगरपालिका–६ पथरा बुधरामका ३९ बर्षीय राम किसोर राय यादवलाई बुधबार साँझ गौरबाट प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीका अनुसार घरमा आमासँग सुतिरहेकी लक्ष्मी कुमारी मंगलबार बिहान बेपत्ता भएको भन्ने खबर आएको थियो । ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा स्थानीय फगुनी राय यादवको माछापोखरीमा बालिकाको शव फेला पारेको थियो ।


ADVERTISEMENT

# # #


घटना शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको अनुसन्धान टोलीले गहन अनुसन्धान गर्यो । मृतकको बाबुलाई नै शंकास्पद मानेपछि प्रहरीले उनलाई पक्राउ गरी सोधपुछ गरेको थियो । पक्राउ पछि यादवले प्रहरीसंग घरमा निदाइरहेकी छोरीलाई रातको करिब १ देखि १ः३० बजेको बीचमा आफैले काँधमा बोकी पोखरीको डिलसम्म पुर्‍याएको र नाक, मुख थुनेर हत्या गरे पश्चात् शव पोखरीमा फालेको उनले स्वीकार गरेका छन् ।

आर्थिक समस्याको कारण बीमा रकमको लोभमा हत्या नै गर्ने योजना बनाई पहिले ३० लाखको बीमा गराउन चाहेको तर सम्भव नभएपछि २०७६ जेठ १९ गते मृतक बालिकाको नाममा प्रभु लाईफ इन्सुरेन्स लिमिटेड गरुडा, उपशाखाबाट २५ लाख रुपैयाँको जीवन बिमा गरेको उनले बताएका छन् ।

सोही रकम प्राप्त गर्न छोरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । अभियुक्त राम किसोरले २०५८ सालदेखि २०६१ सालसम्म विभिन्न अभियोगमा ३ वर्ष जेल सजाय भुक्तान गरिसकेको समेत खुल्न आएको छ ।

राम किसोरलाई ज्यान सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।