काठमाडौँ – बिहीबारदेखिको लगातार वर्षाका कारण विभिन्न ठाउँमा बाढी र पहिरो देशभर बाढी पहिरो परी १७ जनाको मृत्यु भएको छ । यस्तै १५ जना बेपत्ता भएका छन् ।


ADVERTISEMENT


काठमाडौँ


ADVERTISEMENT

# # #


काठमाडौंको मूलपानीमा घरको पर्खाल भत्केर पुरिँदा ३ जनाको मृत्यु भएको छ । घरको पर्खाल भत्किएपछि एकै परिवारका २ महिलासहित एक बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय कुन्दन यादव छन् । महानगरीय प्रहरी वृत वौद्धका डीएसपी नरेन्द्र चन्दका अनुसार मुलपानी बाबाचोकमा टहरामा बस्दै आएका थिए ।

यस्तै सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा एक जना घाइते भएको बताइएको छ । काठमाडौँका खालाहरुमा पानीको बहाब बढिरहेकाले खोला छेउ सतर्कता अपनाउने प्रहरीले अनुरोध गरेको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवरुद्ध

यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । शुक्रबार नेपालगञ्जबाट आएको यतिको एटीआर जहाज अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको हो ।

विमान चिप्लिएपछि विमानस्थल अवरुद्ध बनेको छ । आन्तरिक र बाह्य उडान रोकिएको छ ।

चिप्लिएको विमान हटाउने काम भएपनि अझै नसकिएकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन सकेको छैन ।

भक्तपुर

भक्तपुरमा पनि नदी तथा खोलामा पानीको बहाब बढेको छ । हनुमन्ते खोलामा पानीबो बहाव उच्च भएसंगै बस्तीमा पानी पस्न सुरु भएको छ ।

ललितपुर
गएराति आएको हुरीले महानगरीय प्रहरी प्रभागभित्र रहेको सहायक कक्ष छेऊको रुख ढालेको छ । जसका कारण मंगल बजार जाने सडक अबरुद्ध भएको थियो । तर, अहिले अवरोध हटाइसकिएको छ ।

धादिङ

धादिङमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

मुग्लिन–नौबिसे सडकखण्ड अन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेकोे लेदोले सडक पुरिएपछि आज दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध भएको हो ।

काभ्रे
काभ्रेमा दुईजनाको मृत्यु भएको छ । बनेपा ३ नाला, चुनातालमा विहान घर भत्कदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सिन्धुली

सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।

गएराति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जनाएका छन् ।

रामेछाप
रामेछापमा पनि पहिरोमा परी एक जनाले ज्यान गुमाएका छन् ।

भोजपुर

भोजपुरमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय जगतबहादुर र १४ वर्षीय बालक जनक विक रहेका छन् ।

पाँचथर

खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् ।

जनकपुर जलमग्न

अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।

जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान, जनकपुर विमानस्थल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला हुलाक कार्यालय, प्रदेश २ स्वास्थ्य निर्देशनालय, उद्योग वाणिज्य सङ्घ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर जलमग्न भएको छ ।

उदयपुर

बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेको छ । बाँध भत्कन थालेपछि गाईघाट बजारलगायतका क्षेत्र जोखिममा परेका छन् ।

बाढीले बाँधको पुरानो संरचना खोल्न थालेको र ढुङ्गा बगाउन थालेपछि बाँध फुट्ने अवस्थामा पुगेको शिवालयटोलका स्थानीयवासी कनक कार्कीले बताए ।

सिरहा

सिरहा सदरमुकामसहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् ।

पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।

यस्तै सिरहाको गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ । इलाका प्रहरी कार्यालय लहानसमेत जलमग्न भएको छ । कार्यालय परिसरमा करीब तीन÷चार फिटसम्म पानी जम्दा पीडितलाई कार्यालयसम्म पुग्न समस्या भइरहेको छ ।

खोटाङ्ग

यस्तै खोटाङ्गको खोटेहाङ्ग गाउँपालिकामा पहिरोमा परी घर पूरिँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको परिचय भने बाहिर आइसकेको छैन ।

मकवानपुर

मकवानपुरमा १ जना बालिका र भोजपुरमा २ जनाको मृत्यु भएको छ ।