विर्तामोड– झापा– प्रहरीले शरीर बन्धक बनाइ ४० लाख फिरौंती माग्ने चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मामा भाञ्जा ग्यारेज सञ्चालक विर्तामोड नगरपालिका वडा नं. ४ बस्ने २९ वर्षका मेराज खान, ईलाम फाकफोकथुम गा.पा.वडा नं.१ घर भइ हाल झापा विर्तामोड नपा वडा नं.२ चारपाने बस्ने २० बर्ष २० की रितु फियाक लिम्वु, बिर्तामोड नपा वडा नम्बर ४ बस्ने सुजन विक (भारत दार्जिलिङ्ग जिल्लाबाट सञ्जु क्षेत्री नामबाट आधार कार्डसमेत बनाएको) र भारत किसनगञ्ज घर भई झापा विर्तामोड नगरपालिका वडा नं.४ का २५ बर्षका प्रकाशदास (मेराज खानको मामा भाञ्जा ग्यारेजमा काम गर्ने कामदार) रहेका छन् ।
उनीहरूका साथबाट एकथान कार, लागूऔषध, नक्कली पेस्तोल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।
के हो घटना ?
बिर्तामोडका एक व्यवसायीलाई अपरिचित केटीको नम्बरबाट फोन आउँछ । फोनबाट  सुरु भएको मित्रता सामाजिक सञ्जाल इमो हुँदै माया प्रेममा पुग्छ । यो क्रममा उनीहरुबीच यौनसम्बन्धका कुरा समेत हुन थाल्छन् ।
उनीहरूबीच अश्लील भिडियो कल पनि हुन्छ । केटीले प्रस्ताव अनुसार भेट्न विर्तामोड पुगेका व्यवसायी १९ वर्षकी युवती देखेपछि मक्ख भए । व्यापारी केटीलाई होटलमा जाँउ भन्छन् केटीले होटलमा असुरक्षित हुने भन्दै कोठामा जान आग्रह गर्छिन । व्यापारीले केटीको आग्रहलाई नर्कान सक्दैनन् र केटीको कोठासम्म पुग्छन् ।
कोठमामा केटीसँग कुराकानी गर्दै गर्दा नाटकीय शैलीमा एक युवाले ढोका ढक्ढक्याउँछन् । ढोका खोल्दा हातमा छुरा बोकेका ती युवाले दुबैजनालाई कुटपिट गर्न थाल्छ । छुरासहित उपस्थित सञ्जय क्षेत्री भनिने सुजन शंकरले व्यवसायीलाई एउटा नम्बर दिएर फोन गर्न लगाउँछन् । फोन गरेको केही समयमा नै मिराज खान त्यहाँ पुग्छन् ।
मिराज किशोरीको साथमा जान्छन् र उनलाई सुरक्षित स्थानसम्म पु¥याएर पुनः त्यही ठाउँमा पुग्छन् । त्यस बेलासम्ममा शंकरले व्यवसायीको नाङ्गो भिडियो तयार गरिसकेका हुन्छन् । शंकरले ५० लाख रुपैयाँ नदिए भिडियो सार्वजनिक गर्नुका साथै लास गायब गर्ने सम्मको धम्की दिन्छन् ।
उनीहरुबीच ४० लाख रुपियाँमा दिने सहमति भई त्यहाँबाट बाहिर आउँछन् । व्यवसायीले पैसा उपलब्ध गराउन नसक्ने भए पछि आत्महत्यासम्मको सोच बनाए पनि अन्ततः इलाका प्रहरी कार्यालय अनारमनीमा पुगी उजुरी गरेसँगै अभियुक्त साउन ५ गते पक्राउ परेका हुन् ।
यसरी मायाको नाटक गर्दै हनिट्रयापमा पारी व्यवसायीसँग मोटो रकम असुल्न खोज्ने त्यो गिरोह अहिले झापा प्रहरीको खोरमा पुगेको छ ।