काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दीर्घकालीन रुपमा तराईको डुबान अन्त्यका लागि भारत सरकारसंग कुटनीतिक पहल गरिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति देउवाले बाढी पहिरोबारे सरकार गम्भीर नभएको बताए । ‘कमला नदीले सारा डुबान पारेको छ । बलिया देखिने तटबन्धन समेत भत्किएका छन् । सिरहा, सर्लाही, रौतहट, उदयपुरका बासिन्दा डुबानमा छन् । खाने अन्न भिजेको छ ।’ बाढी आएपछि आफूले प्रभावित क्षेत्रको निरीक्षण गरेको भन्दै उनले भने, ‘यस्तो बेलामा सरकारले जनताको दुःख बुझ्नु पर्ने हो । तर, त्यहाँ त स्थानीय सरकार समेत पुग्न सकेको छैन ।’


ADVERTISEMENT

# # #


पीडितलाई उद्दारपछि राहत दिनुपर्नेमा सरकार हेलिकोप्टरबाट निरीक्षण गरेर मात्रै फर्किएको भन्दै देउवाले असन्तुष्टि जनाए । ‘केही विदेशी संस्थाले केही गरेका छन् । तर, सरकारका तर्फबाट त्यस्तो कहीँ पनि देखिँन मैँले ।’ देउवाले भने, ‘हेलिकोप्टरबाट गएर के हुन्छ ? जनता पानी सुक्ला र घर जाऔँला भनेर बसेका छन् । तर, सरकारले पहल गरेको छैन ।’

पहाडी क्षेत्रमा पनि पहिरोले भयावह स्थिति सिर्जना गरेको अवस्थामा पनि सरकार चुप लाग्नु दुःखद भएको उनले बताए । ‘यस्तो बेलामा सरकारले जनताका दुःख हेर्ने हो । राज्यले सहयोग गर्ने हो । हामी एउटा पार्टीले के गर्ने ?’ उनले भने,  ‘बाढी पहिरोले जनता दुःखमा छन् । सरकारलाई मतलबै छैन ।’

यस्तै उनले डुबानका विषयमा भारत सरकारसंग पनि कुरा गर्नुपर्ने बेला आएको बताए । बाढीका बारेमा भारतले नेपाललाई दोष दिने र नेपालले भारतलाई दोष दिने काम भइरहेको भन्दै उनले कुटनीतिक तवरले भारतसंग कुराकानी गर्नुपर्ने बताए ।

उनले भने, ‘कुटनीतिक स्तरबाट सदाका लागि यो कुरा समाधान गर्नुपर्छ । होइन भने, एकले अर्कालाई गाली गरेमा झन् स्थिति भयावह हुनेवाला छ ।’

जनतालाई दुःख परेका बेला सत्तापक्ष वा प्रतिपक्ष होइन सबै एक भएर लाग्नुपर्ने उनले बताए ।