काठमाडौं – आगामी मंसिर १५ देखि २५ गतेसम्म नेपालमा आयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा समावेश २७ खेलहरु काठमाडौं, ललितपुर र पोखरामा सञ्चालन गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत साग प्राविधिक समितिले खेल स्थलको टुङ्गो लगाएको हो ।


ADVERTISEMENT


राखेपका नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवाल, सागमा समावेश संबन्धित खेल संघका पदाधिकारी र राखेपको प्राविधिक टोलीले निरिक्षण गरेपछि खेल खेलिने स्थान पक्का गरिएको राखेपले जनाएको छ । टुङ्गो लागेको खेल स्थलको निर्माण, मर्मत सम्हार र रंग रोगनका काम धमाधम भइरहेका छन् ।


ADVERTISEMENT

# # #


राखेपका सदस्य सचिव सिलवालले भौतिक संरचना र बजेट बिना साग नरोकिने प्रतिबद्धता जनाए । ‘साग अब कुनैपनि हालतमा रोकिन्न । सागका लागि आवश्यक खेल सामग्री र त्यसको खरिद प्रकिया फास्ट ट्र«याक बाट हुनेछ । आवश्यक बजेटका लागि प्रधानमन्त्री देखि अर्थ मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयसँग सबै प्रत्रिया अघि बढाईएको छ,’ सिलवालले भने ।

सागका अधिकांश खेलहरु काठमाडौं र ललितपुरमा हुनेछन् । महिला फुटबल सहित सात वटा खेल पोखरामा खेलाईने छ । ललितपुरको सातदोबाटोको नवनिर्मित भवनमा कराते र बक्सिङ, तेक्वान्दो एमेडेमी भवनमा तेक्वान्दो र कुस्तीका खेल सञ्चालन हुनेछ । सातदोबाटोमै सुटिङ, पौडी, स्क्वास, टेनिस खेल सञ्चालन हुनेछ । उसु लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ ।

दशरथ रंगशालामा पुरुष फुटबल र एथलेटिक्सका खेलहरु सुचारु हुनेछन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बास्केटबल र व्याटमिन्टनका खेल सञ्चालन गरिनेछ । लैनचौरमा रहेको टेबुलटेनिस हलमा टेबुलटेनिस, मुलपानी र कीर्तिपुर मैदानमा क्रिकेट, काठमाडौंको भृकुटी मण्डपमा खोखो र कबड्डी खेल खेलाउने राखेपको तयारी छ । गल्फ पार ७२ को गोकर्ण गल्फ कोर्समा हुनेछ । साईक्लिङ खेल जगडोलको शहिद पार्कमा हुनेछ । फेन्सिङ खेलको स्थल निक्र्योल हुन बाँकी रहेको पनि राखेपले जनाएको छ । राखेपले इन्डोर गेम्सका कतिपय खेललाई नेपाल पुलिसको निर्माणाधिन कभर्डहल, आर्मीको कभर्डहल, भृकुटी मण्डप र त्रिपुरेश्वरको कभर्डहलमा खेलाउनल सकिने गरी सम्भावित खेल स्थलको रुपमा प्रयोग गर्ने तयारी पनि गरिरहेको छ ।

यसैगरी राखेपले पर्यटकीय नगरी पोखरामा साग अन्तर्गत सातवटा खेल खेलाउने तयारी गरेको छ । पोखरामा रंगशलामा महिला फुटबल हुनेछ । रंगशालाको कभर्डहलमा आर्चरी, भलिबल र ह्यान्डबल हुनेछ । पोखरा सभागृहमा भारोत्तोलन, फेवाताल किनारमा ट्रायथलन र प्याराग्लाईडिङका खेल सञ्चालन हुनेछन् । राखेपले दशरथ रंगशालाको मुल गेटलाई मौलिक रुपमा निर्माण गरी गेट बरपर फुल सहितको बगैचा बनाउने तयारी पनि गरिरहेको छ । दशरथ रंगशालाको भिआईपी प्यारापिट बाहेक अन्य संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको बताईएको छ ।