काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका छन् । गरेका गलत कामको बारेमा जनस्तरबाटै विरोध भएपछि सरकार जनतासँग झुक्ने परिस्थिति बनेको बताए ।


ADVERTISEMENT


बिहीबार रिपोर्टर्स क्लबमा बोल्दै उनले सरकारले सुरु–सुरुमा राष्ट्रियताको बारेमा ठूला–ठूला कुरा गर्ने गरेको र सत्तामा पुगेपछि लम्पसार पर्ने गरेको पनि आरोप लगाए । ‘सुरुमा ओली सरकारले राष्ट्रियताको बारेमा ठूलो कुरा गर्यो । उहाँहरुले हाम्रै काँधमा राष्ट्रियता अडेकोजस्तो गर्नुभयो ।’ उनले भने, ‘तर, अहिले लम्पसार हुनुभयो । उहाँहरुको राष्ट्रियताको चर्को नारा भनेको त सत्तामा जाने भर्याङमात्रै हो ।’


ADVERTISEMENT

# # #


उनले सरकारले जनतासामू झुठो आश्वासनमात्रै दिएको तर बोलेका कुरा पूरा नगरेको आरोप लगाए । उनले भने,‘सरकारले सुशासन, रोजगारी, समृद्धिलगायतका कुरामा खोस्रा कुरा गरेको छ ।’ कांग्रेसले अर्को निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरि जित्नेपनि उनको दाबी छ । पार्टीले अब संसद र सडक दुवै ठाउँमा आफ्नो गतिशिलतालाई तिव्रता दिने र जनताका आवाज उठाउने महतको भनाई छ ।

वर्तमान सरकार नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्धमा मात्रै नभएर पूरै विदेश सम्बन्धमा असफल भएको उनको आरोप छ । ‘सरकारले जनतातिर फर्केर राष्ट्रियताको कुरा गर्छ, तर जुन देशसँग आफ्नो कुरा राख्नुपर्ने हो त्यो देशसँग कुरै गर्न सक्दैन् । लम्पसार परेको छ ।’ उनले भने, ‘त्यसैले यो सरकार विदेश नीतिमा पुरै असफल भएको छ ।’

विप्लव कार्यकर्ताका नाममा सरकारले सर्लाहीमा नागरिकको हत्या गरेको भन्दै उनले त्यसको सत्य, तथ्य पत्ता लगाउनको लागि संसदीय समिति बनाउँभन्दा सरकारले नमानेको कारण कांग्रेसले संसद अवरोध गरिरहेको बताए । यस्तै महतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई हिंसाको बाटो त्याग्नको लागि आग्रह गरे ।

उनले पार्टीको जारी केन्द्रिय कार्यसमिति बैठकमा नेताहरुबीच जुहारी नचलेको बरु सकारात्मक छलफल जारी रहेको स्पष्ट पारे । पार्टी यतिवेला पूर्ण रुपमा महाधिवेशन केन्द्रित रहेर संगठन विस्तारको काममा जुटेको पनि उनले विश्वास दिलाए ।

महाधिवेशन गर्ने विषयमा पार्टीभित्र खासै विवाद नरहेपनि तत्कालै गर्नुपर्छ भन्नेमा कोही नभएको बताए । आगामी फागुनसम्ममा सक्रिय सदस्य र मतदाताको टुंगो लागिसकेपछि महाधिवेशनको कार्यतालिका आउने बताए ।