काठमाडौँ– सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीच आज तेस्रो पटक वार्ता हुँदैछ । हिजो भएको दोस्रो वार्ता अनिर्णित बनेपछि आज अपरान्ह ४ बजेका लागि पुन वार्ताको तयारी भएको सरकारी वार्ता टोलीका संयोजक शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले बताए ।


ADVERTISEMENT


चिकित्सा शिक्षा र सेवामा सुधारको मागसहित त्रिवि शिक्षण अस्पताल हाताभित्र ७ दिनदेखि अनसनरत डा. केसीको मागबारे सरकारी टोलीले ठोस जवाफ दिन नसक्दा पहिलो वार्ता झैं हिजोको वार्ता पनि निष्कर्षविहिन भएको थियो । चिकित्सा शिक्षा सम्बन्धी विधेयक आफ्ना सुझावसहित तुरुन्त पास गर्नुपर्ने डा. केसीको मुख्य माग भएपनि सरकारी वार्ता टोलीले संसदमा रहेको विधेयक आफ्नो क्षेत्राधिकार बाहिर रहेको बताइरहेको छ ।


ADVERTISEMENT

# # #


यसैबीच डा. केसीको समर्थनमा माइतीघर मण्डलामा रिले अनसन सुरु भएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सले डा. केसीको समर्थनमा हिजो रिले अनसन घोषणा गरेको थियो ।

केसीले सरकारी निर्देशन र अदालतको आदेश अटेर गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गर्नुपर्ने अर्को माग राखेका छन्। चिकित्सा शिक्षा आयोग नबनुञ्जेल मेडिकल शिक्षाको सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गर्नुपर्ने उनको माग छ।

एमडी, एमएस र एमडिएस तहको शुल्क यसै शैक्षिक वर्षदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी मेडिकल कलेजहरूका लागि २२ लाख रुपैयाँ कायम गर्न पनि उनले माग राखेका छन् ।