काठमाडौँ– स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला आज हुँदैछ । मुद्दाको पक्ष र विपक्ष दुवैतर्फका वकिलहरूले बहस गरेर सकेका कारण आज फैसला आउन लागेको हो ।


ADVERTISEMENT


गत बिहीबार बहस सकिएपछि न्यायाधीश ओमप्रकाश मिश्रले आइतबार फैसला आउने बताएका थिए । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र ओमप्रकाश मिश्रको दुर्इ नम्बर इजलाशमा उक्त मुद्दा राखिएको छ ।


ADVERTISEMENT

# # #


भरतपुरको मतगणना भइरहेका बेला मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो । आयोगको निर्णयविरुद्ध गत जेठ २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । महानगरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भएको छ । निर्वाचन आयोगले १९ वडामा पुनः मतदान गर्ने निर्णय गरेपछि नेकपा एमाले सर्वोच्च अदालत गएको थियो । मुद्दाको टुंगो नलाग्दा भरतपुर महानगरपालिकाका निर्वाचित प्रतिनिधिहरुले अहिलेसम्म सपथ ग्रहण गर्न पाएका छैनन भने महानगरपालिकाको कामकाजसमेत ठप्पप्राय छ।

त्यसैगरी आज नै आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माको मुद्दाको पनि सुनुवाइ हुँदैछ । शर्माको मुद्दामा पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । कर फछ्र्योट आयोगमार्फत शर्माले अर्बौं रुपैयाँ छुट दिएर भ्रष्टाचार गरेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि लगाएको छ । शर्माविरुद्ध विशेषमा मुद्दा दायर भएपनि सो मुद्दा अहिले यथास्थितिमै रहेको छ ।

शर्माकी पत्नीले आफ्ना पतिलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा हालेकी छन् । सोही रिटमा सुनुवाइ भइरहेको हो । संयुक्त इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो ।
शर्माको मुद्दा सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ हुँदैछ ।