काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकले ‘राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको प्रहरी समायोजन विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।


ADVERTISEMENT


बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा सांसद दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी, रामबहादुर विष्ट, लक्ष्मणलाल कर्ण, प्रेम सुवाल, प्रदीप यादव र रेणुका गुरुङले समायोजनमा एक तह बढुवा किन नगर्ने भनी प्रश्न गरेका थिए ।


ADVERTISEMENT

# # #


जवाफमा गृहमन्त्री थापाले निजामतीमा तह मिलान गरिएको, विगतमा सशस्त्रमा विशिष्ट श्रेणीकालाई एक तह बढुवा गरिएको, प्रहरीमा एक वर्षसम्म व्यापक बढुवा भएकाले अहिले एक तह बढुवा गर्दा अन्तरविरोध हुने बताए । समायोजनमा जानेलाई प्रोत्साहनस्वरुप ग्रेड थप गरेर पठाइने उनको प्रतिबद्धता थियो ।

यसैगरी ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, २०७५’ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत गरेको छ । गृहमन्त्री थापाले बैठकमा प्रस्तुत गरेको सो प्रस्तावमा भाग लिँदै सांसदहरु भरतकुमार शाह, दिव्यमणि राजभण्डारी, लक्ष्मणलाल कर्ण, प्रेम सुवाल र रामसहायप्रसाद यादवले प्रदेशलाई कमजोर गर्ने गरी विधेयक ल्याउन नहुने बताए ।

सांसद कर्णले प्रदेशलाई कमजोर पार्ने गरी विधेयक पारित भए देशको स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण हुनुपर्छ भने ।