जाकार्ता– इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले मुलुकको राजधानीलाई जकार्ताबाट अन्यत्र सार्न शुक्रबार प्रस्ताव गरेका छन् ।


ADVERTISEMENT


इन्डोनेसियाको ७४औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा सांसद र सरकारी उच्च अधिकारीलाई सम्बोधन गर्दै उनले आफ्नो प्रस्तावमा समर्थन जनाउन आम जनतासँग आग्रह पनि गरे । उनले हालको राजधानी जकार्तामा जनघनत्व अत्यधिक बढेको, अव्यवस्था रहेको तथा फोहोर ज्यादै भएको बताए ।


ADVERTISEMENT

# # #


राष्ट्रपति विडोडोले कुनै पनि मुलुकका लागि राजधानी शहर राष्ट्रिय पहिचानको प्रतीक मात्र होइन मुलुकको प्रगतिको सूचक पनि हुने गर्ने बताए । ‘मुलुकको राजधानी अब बोर्नियो द्वीपमा सारौं । यसमा आम इन्डोनेसियाली जनताको समर्थन र आशिर्वाद चाहन्छु ।’

उनले बोर्नियोमा राजधानी सार्ने कार्यले समानता र आर्थिक न्याय पनि प्रदर्शित गर्ने बताउँदै यो अग्रगमनमा रहेको इन्डोनेसियाको दूरदृष्टि पनि भएको बताए । बोर्नियो द्वीपमा नयाँ राजधानी शहर बसाउने बारेमा दशौं वर्षदेखि योजना अघि बढिरहेको छ । राष्ट्रपति विडोडोले गत अप्रिलमा जकार्ताबाट जाभा द्वीपमा स्थानान्तरण गर्नेगरी एक योजनालाई स्वीकृत गरेका थिए। तर उनले बोर्नियो द्वीपको कुन स्थानमा नयाँ राजधानी शहर राख्ने भन्ने बारेमा खुलाएका छैनन् ।

एसियाकै ठूलो शहर मानिने जकार्ता पछिल्ला वर्षमा चौतर्फी अव्यवस्थाबाट गुज्रिरहेको छ । बाढीले हरेक वर्ष जलमग्न हुने जकार्ताको भूमिगत पानी अत्यन्त प्रदूषित छ भने नदी प्रणाली व्यापक फोहोर छ । जकार्ताको अव्यवस्थाका कारण उत्पन्न समस्याका कारण अर्थतन्त्रमा करिब ६ अर्ब अमेरिकी डलर नोक्सान भइरहेको छ ।

गत महिना राष्ट्रपति विडोडोले एपीलाई दिनुभएको अन्तर्वार्तामा पनि उनले नयाँ स्थानमा राजधानी बनाउने बताएका थिए । यो ठाउँ जाभा द्वीपभन्दा बाहिर हुने उहाँको भनाई थियो । हाल जकार्ता जाभा द्वीपमा रहेको छ ।

उनले भने, ‘हामी अलग्गै राजधानी होस् भन्ने चाहन्छौं, र जकार्तालाई व्यवसाय तथा आर्थिक केन्द्रका रुपमा स्थापित गर्न चाहन्छौं । हामी जाभामा सबै रकम केन्द्रित नहोस् भन्ने चाहन्छौं । मुलुकको स्रोतसाधन अन्यत्र पनि विस्तार होस् भन्ने हाम्रो योजना छ ।’ विकास योजना मन्त्री बामबाङ ब्रोजोनेगोरोले नयाँ राजधानीका लागि करिब ३० हजार देखि ४० हजार हेक्टर जमिन आवश्यक पर्ने बताए ।