१९ भाद्र २०७६, काठमाडौँ – नेपाल टेलिकमले कन्चनपुरको महेन्द्रनगरमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने फाइबर टु द होम (एफटीटीएच) सेवाको शुभारम्भ गरेको छ ।


ADVERTISEMENT


कम्पनीले बिहीबार महेन्द्रनगरमा पहिलो पटक एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गरेको हो । महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा एफटीटीएच प्रविधिमार्फत सञ्चालित टेलिफोनबाट क्षेत्रीय निर्देशनालय धनगढीका निर्देशक नामाकर न्यौपानेले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई फोन गरेर सो सेवाको शुभारम्भ गरेका छन् ।


ADVERTISEMENT

# # #


निर्देशक न्यौपानेले प्रबन्ध निर्देशक अधिकारीलाई महेन्द्रनगरमा एफटीटीएच वितरण शुभारम्भ भएको जानकारी गराउदै सो क्षेत्रमा यसको क्षमता र आगामी दिनको योजना बारेमा बताए । उनले नयाँ प्रविधि शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दै नयाँ ग्राहकहरुलाई बधाइ दिए ।

कार्यक्रममा उपस्थित नयाँ ग्राहकहरुलाई क्षेत्रीय निर्देशक न्यौपानेले एफटीटीएच जडानका लागि आवश्यक सीपीई (कस्टमर प्रिमिसेज इक्विपमेन्ट) वितरण गरेका थिए ।

हाल महेन्द्रनगरमा जडान गरिएका दुईवटा एफडीसी (फाइबर डिष्ट्रिब्युसन क्याबिनेट) को १ हजार २४ लाइन एफटीटीएच वितरण क्षमता रहेको र यसमध्ये ७ सय ६८ लाइन तत्काल वितरण गर्न सकिने टेलिकमले जनाएको छ । महेन्द्रनगरको बजार क्षेत्रमा गल्ली नम्बर १ देखि ४ सम्म एफटीटीएच हाल उपलब्ध छ । आगामी दिनमा जिल्लामा थप ७ वटा एफडीसी जडान गरी प्राय शहर र घना वस्ती क्षेत्रमा सेवा विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । जस अन्तर्गत न्यूनतम एक वर्षका लागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । हाल एफटीटीएच प्याकेज अन्तर्गत नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर (सीपीई) र एक सय मिटर फाइबर निःशुल्क प्राप्त गर्ने कम्पनीको भनाई छ ।

एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपल प्ले अर्थात भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकोले ग्राहकहरुको लागि यो सेवा प्रभावकारी र अत्याधुनिक पनि छ । पहिले एडीएसएल प्रयोग गरिरहेका ग्राहकले पनि अपग्रेड गरी एफटीटीएच सेवा लिन सक्नेछन् । यो आईपीमा आधारित सेवा हो ।