काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाँडै नेपाल भ्रमण गर्ने बताएका छन् । मंगलबार मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको भिडियो कन्फेरेन्स मार्फत उद्घाटन गर्दै मोदीले पुनः नेपाल आउने चाहना राखेका हुन् ।


ADVERTISEMENT


मंगलबार दक्षिण एशियामै पहिलो ‘क्रस बोर्डर पेट्रोलियम पाइपलाइन’को सिंहदरबार र दिल्लीबाट एकसाथ उदघाटन भएको थियो । दिल्लीबाट बोल्दै मोदीले प्रकृतिको काखमा आउने आफ्नो सँधै चाहना रहेको बताए । प्रधानमन्त्री ओलीले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका बेला मोदीलाई नेपालको संविधान दिवस (असोज ३ गते)को प्रमुख अतिथी बन्नका लागि निमन्त्रणा पठाएका थिए । तर, उक्त समयमा अमेरिकाको भ्रमण तय भएकाले आफू नेपाल आउन नसक्ने मोदीले जवाफ दिएका थिए ।


ADVERTISEMENT

# # #


मंगलबार भने मोदीले आफू चाँडै नेपाल आउन चाहेको बताए । ‘यहाँले मलाई एकपटक नेपाल आउने निमन्त्रणा दिनुभएको छ, म विल्कुल यहाँसमक्ष आउन मेरो इच्छा पनि छ । म धेरै चाँडो आउने प्रयास गर्नेछु’ मोदीले भने । उद्घाटन भएको पाइपलाइनबाट हरेक वर्ष दुई मिलियन मेट्रिक टन क्लिन पेट्रोलियन प्रोडक्ट नेपालका सामान्य जनताले प्राप्त गर्ने भन्दै उनले यसले जनताका साथै नेपालको आर्थिकरुपबाट बचत हुने बताए ।

समयमै पाइपलाइन पूरा भएको भन्दै उनले खुसी व्यक्त गरे । ‘नेपाल सरकारको सहयोग र हाम्रो संयुक्त प्रयासबाट समयमै पूरा भयो । म यसका लागि धन्यवाद दिन चाहन्छु ।’

पछिल्ला डेढ वर्षमा प्रधानमन्त्री ओलीसंग चारपटक भेट गरेको भन्दै उनले भेटघाटले आपसी विश्वास थप बढाएको उल्लेख गरे । ‘पछिल्लो डेढ वर्षमा मेरा मित्र प्रधानमन्त्री ओलीजी र मेरो चारपटक भेटघाट भइसकेको छ । यी भेटघाटमा आपसी विश्वास पक्का भएको छ ।’ उनले भने, ‘परस्पर हितका आधारमा हाम्रो साझेदारी मजबुद भएको छ ।’

उनले नेपालको विकासका लागि भारत सधैँ सहयोग गर्न तयारको रहेको प्रतिवद्धता दोहोर्याए । यस्तै उनले प्रधानमन्त्रीलाई उत्तम स्वास्थ्य, अभूतपूर्व सक्रियताका लागि शुभकामना समेत दिएका थिए ।