काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यसतर्फ पार्टी नेतृत्वको ध्यानाकार्षण गराएका हुन् । समयमै महाधिवेशन सम्पन्न गरी सबै भातृ संस्थाहरुको निर्वाचनमार्फत नेतृत्व चयन गरि पार्टीलाई बलियो बनाउनुपर्ने उनीहरुको जोड थियो ।


ADVERTISEMENT

# # #


पार्टी सुधार गर्नुको सट्टा झारा टार्नको लागि दोस्रो जागरण अभियान शुरु गरि पार्टीका भ्रातृ संस्थाहरुलाई निष्कृय बनाएको उनीहरुको आरोप छ । कार्यक्रममा बोल्दै नेविसंघका पूर्व उपाध्यक्ष तथा युवा नेता क्षितिज भण्डारीले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारको अधिनायकवादी कदमको आफ्नो पार्टीले सशक्त विरोध गर्न नसकेको आरोप लगाए । उनले तत्कालिन पार्टी सभापति सुशिल कोइरालाको नेतृत्वदायी क्षमता र भूमिका वर्तमान सभापति शेरबहादुर देउवाले अनुशरण गर्नुपर्ने सुझाए ।

पार्टी नेतृत्वले ७ दिनभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला पक्षको सम्मानजनक उपस्थितिमा महाधिवेशन गर्ने केन्द्रिय समिति गठन नगरे ७७ वटै जिल्ला पार्टी कार्यालयमा आन्दोलन र केन्द्रिय कार्यालयमा आमरण अनशन गरिने पनि भण्डारीको चेतावनी थियो । त्यस्तै, उनले पार्टीको दोस्रो चरणको जागरण अभियान सकिएलगत्तै आमरण अनशन सुरु गर्ने पनि चेतावनी दिए ।

त्यस्तै, भण्डारीले वर्तमान पार्टी नेतृत्वले पार्टीका सच्चा नेता तथा कार्यकर्ताहरुलाई थाङ्नामा सुताउने काम गरेको अर्को गम्भिर आरोप लगाए । उनले भने,‘पार्टी नेतृत्वले जबरजस्ती गोजीबाट नेविसंघको समिति बनाए हामी समानान्तर कमिटी गठन गरेर अघि बढ्छौं ।’

कार्यक्रममा नेविसंघका पूर्व केन्द्रिय सदस्य मोती भण्डारीले भातृ संगठनलाई कोमामा राखेर पार्टी जागरण अभियानमा होमिएको चित्रण गरे । उनले नेविसंघजस्तो बलियो र जुझारु संगठन जोगाउनको लागि कांग्रेस नेतृत्व असक्षम भएको टिप्पणी गरे ।

नेविसंघका पूर्व केन्द्रिय सदस्य तथा पार्टी महाधिवेशन प्रतिनिधि लिलाबल्लभ दाहाल ‘काका’ ले वर्तमान पार्टी नेतृत्व ईतिहासमै कमजोर भएर गिरेको आरोप लगाए । उनले पार्टी अहिले प्रतिपक्षमा हुँदापनि भूमिकाविहीन भएको टिप्पणी गरे ।

उनले पार्टी सभापति शेरबहादुर देउवाको मात्रै नभएर युवा नेताद्धय विश्वप्रकाश शर्मा र गगन थापा पनि निकम्मा भएको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग गरे ।