काठमाडौं । नेपाल वायु सेवा निगमले ९ फागुन २०७५ मा पाइलट र कोपाइलटका लागि दरखास्त आह्वान गर्‍यो । खासगरी आन्तरिक उडानका लागि निगमलाई २८ क्याप्टेन र २२ जना कोपाइलट चाहिएको थियो । तर, निगममा जागिर खान पाइलटहरुको उत्साह देखिएन ।


ADVERTISEMENT


गत सोमबार आएको रिजल्ट अनुसार नवौं तहको सिनियर क्याप्टेनमा १३ जनाको आवेदन माग गरिएकोमा १ जना मात्र लिखित परीक्षामा सहभागी भए । तर, उनी पनि उत्तिर्ण हुन सकेनन् । यसरी, नयाँ भर्नाबाट निगमले पाइलट नै लिन सकेन ।


ADVERTISEMENT

# # #


यसैगरी, आठौं तहको जुनियर क्याप्टेनमा १५ जनाको आवेदन मागिएको थियो । जसमा २ जनाले लिखित परीक्षा दिएकोमा दुवै जना फेल भए ।

सिनियर कोपाइलटतर्फ ९ जना मागिएकोमा ५ जनाको मात्र आवेदन परेको थियो । त्यसमध्ये ४ जना लिखित परीक्षामा पास भएका छन् । अब उनीहरुको अन्य जाँच हुनेछ । निगमले कोपाइलटतर्फ महिना १ र आदिवासी(जनजातितर्फ पनि १ जना र बाँकी खुल्लामा पाइलट मागेको थियो । तर, आरक्षणमा कसैको पनि आवेदन परेन ।

जुनियर कोपाइलट (सातौं तह)मा १४ जनाको आवेदन माग गरिएको थियो । त्यसमध्ये लिखित परीक्षामा १३ जनाले भाग लिएका थिए । त्यसबाट ११ जना उत्तीर्ण भएका छन् । पाइलटको तुलनामा को(पाइलट अलि बढी आकर्षित भए पनि पर्याप्त भने छैन ।

निगमका अपरेशन विभाग प्रमुख सिनियर क्याप्टेन दीपु ज्वार्चन यसलाई निगममा प्राविधिक जनशक्तिको महत्व नबुझ्दा उत्पन्न भएको समस्या ठान्छन् । देशभित्र प्राविधिक जनशक्ति कम हुनु र त्यसमा पनि निगममा कर्मचारीको सेवा(सुविधा आकर्षक नहुनुले नयाँ पाइलट ल्याउन निकै चुनौति रहेको उनको भनाइ छ ।

निगमका सहायक प्रवक्ता सुलेख मिश्रका अनुसार प्रशासनिक पदका लागि आह्वान गर्दा भने निकै ठूलो भीड लाग्छ । तर, पाइलटहरु आकर्षित गर्न सकिएको छैन ।

एकातर्फ नयाँ पाइलटहरु आकर्षित गर्ने नसकेको निगमले भएका पाइलट जोगाउन पनि सकिरहेको छैन । निगमबाट हालै दुई जना पाइलट हिमालय एयरलाइन्स गएका छन् । स्रोतका अनुसार उनीहरु हिमालयमा कम्तिमा १४ लाख रुपैयाँ मासिक सेवा सुविधा पाउने गरी उता गएका हुन् ।

निगममा सिनियर पाइलटले अधिकतम ४ देखि ६ लाखसम्म आम्दानी गर्छन् । त्यो पनि पुरै घण्टा उडाउन पाएको अवस्थामा । निगममा पाइलटको सेवा सुविधा कम हुनु र देशभित्रै पाइलट अभावका कारण निगमलाई सिनियर पाइलट जोगाउन समेत मुस्किल परेको उच्च तहका अधिकारीहरु बताउँछन् ।

‘नयाँ ल्याउन मुस्किल छ, जोगाउन झनै मुस्किल,’ अपरेशन विभाग प्रमुख सिनियर क्याप्टेन ज्वार्चन भन्छन्, ‘अब यसतर्फ गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको छ ।’

स्वदेशमा पर्याप्त जनशक्ति नहुँदा निगमले विदेशी जनशक्तीको भर पर्नुपर्छ । तर, यसका लागि महंगो रकम खर्चिनुपर्ने अवस्था विद्यमान छ ।

निगममा स्वदेशी पाइलटको तुलनामा विदेशीले तेब्बरसम्म सेवा सुविधा प्राप्त गर्छन् । यसो हुनुमा विदेशी पाइलटले गर्ने बार्गेनिङ मुख्य कारण हो ।

निगमका एक अधिकारी भन्छन्, ‘उसले खाइपाई खाएको भन्दा बढी नदिएसम्म हाम्रो सेवा गर्न किन आउँछ ।

स्वदेशी पाइलटको सेवा सुविधा बढाउन खोज्दा अर्थ मन्त्रालय, विभागीय मन्त्रालय, संचारमाध्यमदेखि सबै स्थानबाट विरोध हुने, निगमबाट पाइलट पलायन हुने र नयाँ पाइलट नआउने परिपाटीका कारण विदेशी पाइलट ल्याउन बाध्य हुने निगमका अधिकारीहरु बताउँछन् ।

अहिले नेपाल एयरलाइन्सका जहाज उडाउन १५ जना विदेशी पाइलट राखिएको छ । त्यसमध्ये १३ जना वाइडबडी जहाज ए३३० का लागि राखिएको हो । २ जना न्यारोबडी ए३२० का लागि हुन् ।

निगमले थन्किएर बसेका आन्तरिक उडानका साना जहाज उडाउने प्रयोजनमा पाइलट मागे पनि उनीहरु आकर्षित नदेखिएपछि आन्तरिक उडानमा भने झनै अन्योल छाएको छ ।

निगममा पाइलट बाहेकका पदमा भने कर्मचारीको आकर्षण देखिन्छ । प्रशासन, इन्जिनियरिङ तथा अन्य प्राविधिक पदमा पनि पर्याप्त दरखास्त आउने
गरेका छन् ।