काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भूंक्षय रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने बताएका छन् । भारतको नयाँदिल्लीमा जारी ‘संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रणसम्बन्धी सन्धि पक्षधर राष्ट्रहरुको सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सो कुरा बताएका हुन् ।
भूक्षणका कारण वातावरणीय दुस्प्रभाव बढ्नुका साथै खेतीयोग्य जमिन नष्ट हुँदै गएकाले त्यसलाई रोक्न संयुक्त पहल हुनुपर्ने उनको जोड छ । भूमियोग्य जमिनको ह्रासका कारण उत्पन्न वातावरणीय चुनौतीले संसारका करोडौं मानिसहरुको जीविकामाथि गम्भीर असर परिरहेको चर्चा गर्दै बस्नेतले यो चिन्ताको विषय भएको उल्लेख गरे
उनले भूमि संरक्षण गरी उत्पादकत्व बढाउन तथा विश्वलाई मरुभूमीकरणबाट जोगाउन सामूहिक रुपमा दीर्घकालीन लक्ष्य र योजनाहरुको घोषणा गर्नुपर्ने विचार व्यक्त गरे । कुनै एक मुलुकले चाहेरमात्र मरुभूमीकरणको विकराल अवस्थासँग जुध्न नसकिने भन्दै त्यसका लागि सामूहिक प्रयास र सहकार्य हुनुपर्ने उनको भनाइ थियो ।
सेप्टेम्बर २ मा सुरु भएर १३ सम्म चल्ने बैठकको उच्चस्तरीय सत्रमा नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री बस्नेत सम्मेलनमा सहभागी भएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेको सम्मेलनमा नेपालसहित विश्वका ८९ मुलुकका वन तथा वातारणमन्त्री तथा केही मुलुकका राष्ट्र र सरकार प्रमुखसमेत सहभागी छन् ।