काठमाडौं – हङकङ राष्ट्रिय क्रिकेट टोलीका कप्तान अंशुमन रथले भारतमा क्रिकेट खेल्ने उद्देश्यका साथ हङकङ टोली छाडेका छन् ।


ADVERTISEMENT


हङकङ टि–ट्वान्टी विश्वकप छनोटको तयारीमा रहँदा उनले अब हङकङको टोलीबाट नखेल्ने निर्णय गरेका हुन् । उनले अक्टोबरमा यूएईमा हुने छनोटका लागि सार्वजनिक भएको नामावलीबाट पनि नाम फिर्ता लिएको इमर्जिङ क्रिकेटले उल्लेख गरेको छ ।


ADVERTISEMENT

# # #


बुधबार घोषित टिमबाट रथ नखेल्ने बताएपछि हङकङ क्रिकेट बोर्डले विदेशमा अवसर खोजिका लागि कदम चालेको विज्ञप्तिमार्फत् बताएको छ । क्रिकेट सम्बन्धी अनलाइन इमर्जिङ क्रिकेटले रथले भारतमा भविष्य खोज्नका लागि हङकङ टोलीबाट नखेल्ने खुलासा गरेको छ ।

उनले भारतमा घरेलु क्रिकेट खेल्ने र यो वर्ष रणजी ट्रफीमा डेब्यू गर्ने सम्भावना रहेको उल्लेख गरेको छ । उनी आईपीएलको यस वर्षको संस्करणको ड्राफ्टमा समेत भारतको स्थानीय ‘अनक्याप्ड’ खेलाडीको रुपमा समावेश हुने इमर्जिङ क्रिकेटको दाबी छ ।

रथले उमेर समूह हुँदै हङकङबाट १८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेलेका छन् । यस्तै २० टि–ट्वान्टी खेल खेलेका छन् । भारतीय भए पनि उनी हङकङमै जन्मिएका हुन् । सन् १९९४ मा भारत ओडिसाबाट उनको परिवार हङकङ गएको थियो ।

उनले क्रिकेट इमर्जिङको कुराकानीमा हङकङले दिएको अवसरका लागि धन्यवाद दिएका छन् । “म हङकङ क्रिकेटलाई धन्यवाद दिन चाहन्छु । १२ वर्षको उमेर देखिको यात्रा निकै रोचक रहेको थियो । म सबै खेलाडी र अधिकारीलाई आगामी दिनका लागि शुभकामना दिन्छु,” उनले भने । उनको अबको उद्देश्य भारतका लागि खेल्नु हो । भारतीय नागरिकता र पासपोर्ट समेत रहेका अंशुमन अब भारतीय टोलीका लागि सङ्घर्ष गर्ने योजनामा रहेको इमर्जिङ क्रिकेटको दाबी छ ।