काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड स्क्याफेरले शिष्टाचार भेट गरेका छन् । बिहीबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा राजदूत रोल्याण्डले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् ।


ADVERTISEMENT


भेटमा उपराष्ट्रपतिले नेपाल जर्मनी सम्बन्ध अत्यन्त प्रगाढ र सौहार्दपूर्ण रहिआएको बताए । उनले जनस्तरसम्म फैलिएको सम्बन्धलाई विस्तार गर्दै जानुपर्ने बताए। उपराष्ट्रपतिले राजनीतिक स्थायित्वसँगै नेपाल वैदेशिक लगानीका लागि पूर्ण सुरक्षित गन्तव्य बनेको उल्लेख गर्दै जर्मनीको नीजि क्षेत्रलाई नेपालमा लगानीका लागि समन्वय गरिदिन आग्रह गरे। ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सरकार र नीजि क्षेत्रसँगै वैदेशिक लगानीको खाँचो छ,’ उनले भने, ‘जर्मनी सरकार र जर्मनीको नीजि क्षेत्रबाट लगानीको अपेक्षा गरेका छौँ ।’


ADVERTISEMENT

# # #


उपराष्ट्रपतिले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै भ्रमण वर्ष वैदेशिक लगानीकर्ताहरुका लागि फलदायी हुने विश्वास व्यक्त गरे । ‘भ्रमण वर्षमा भ्रमण पनि र लगानीको सम्भाव्यताहरुको अध्ययन पनि होस् भन्ने हाम्रो चाहना छ,’ उनले भने, ‘जर्मनीका व्यवसायीहरु भ्रमण वर्षमा भ्रमण गरुन्, लगानीको सम्भाव्यता अध्ययन गरुन् र लगानी पनि गरुन् ।’

उपराष्ट्रपतिसँगको भेटमा जर्मनीको राजदूत रोल्याण्डले जर्मनीको नीजि क्षेत्र नेपालमा लगानी गर्न तत्पर रहेको बताए । ‘नेपालले नयाँ नयाँ फड्को मार्दै गएको छ । राजनीतिक स्थिरतापछि यहाँ लगानीमैत्री वातावरण बनेको छ,’ उनले भने, ‘अक्टुबर २ मा जर्मनीको ६० वटा कम्पनीका प्रतिनिधि नेपाल भ्रमणमा आउँछन्, उनीहरु लगानीको सम्भावना अध्ययन गर्नेछन् ।’