काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँके घटनाबारे संसदमा गृहमन्त्री रामबहादुर थापाको जवाफ चित्त नबुझेपछि संसद अवरुद्ध गरेको छ । कांग्रेसले सरकारले सत्ताको उन्मादले आफ्ना कार्यकर्तालाई उम्काउन खोजेको आरोप लगाइरहेको छ ।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभामा कांग्रेस सांसदका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले उक्त घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए । घटनामा संलग्न केहीलाई पक्राउ गरिसकेको र बाँकीको खोजी जारी रहेको भन्दै उनले दोषीलाई कारबाही हुने कुरामा शंका नगर्न आग्रह गरे ।


ADVERTISEMENT

# # #


‘यसलाई राजनीतिकरण नगर्न म सम्बन्धित पक्षलाई आग्रह गर्दछु ।’ उनले भने, ‘यस्ता खालका कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी दिन आग्रह गर्दछु ।’ उक्त कार्यक्रमको पूर्वजानकारी स्थानीय प्रशासनलाई नदिएपनि घटना घट्नासाथ प्रहरी घटनास्थल पुगेको बताए ।

घटनामा संलग्नमध्ये बाँकेको खजुरा गाउँपालिका वडा नं १ बस्ने निर्मल खत्री, रोशन सिंह ठकुरी र लोकबहादुर शाहीलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको र अन्यको खोजी जारी रहेको बताए ।

गृहमन्त्रीको जवाफ चित्त नबुझेको भन्दै संसद अवरुद्ध गरेको हो । कांग्रेस सांसद उभिरहेपछि सभामुख महराले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

गत बिहीबार नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति किरण कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो । आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ ।