काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमले सरकारले सिंहदरबारस्थित पुतली बगैँचाको जग्गामा संघीय संसद भवन बनाउन लागेकोमा खुसी प्रकट गरेका छन् । आफूले लामो समयदेखि संसदमा उठाउँदै आएको विषय सम्बोधन भएको भन्दै उनले खुसी व्यक्त गरेका हुन् ।


ADVERTISEMENT


यो सरकारको पहिलो नीति तथा कार्यक्रम प्रस्तुत हुँदाखेरि नै संसदको आफ्नै भवन हुनुपर्छ भन्ने आवाज उठाएको भन्दै उनले भने, ‘संसदलाई लोकतन्त्रको मन्दिर भनिन्छ । मैँले त्यतिखेर नै भनेको थिएँ, भाडाको घर लोकतन्त्रको मन्दिर हुन सक्दैन । मैँले भनेँपछि नै सरकारले यो वर्षको नीति तथा कार्यक्रममा संसद बनाउने कुरा समावेश गरेको हो ।’


ADVERTISEMENT

# # #


यसअघि आलमले छिमेकी मुलकले बनाइदिएको भवनमा लोकतन्त्रको मूल मन्दिर मानिने संसद चलेकोमा असन्तोष प्रकट गर्दै सरकारलाई संसद बनाउने आँट त गर्न सुझाएका थिए ।

संघीय संसदको भवन प्रधानमन्त्री ओलीले बुधबार नै शिलान्यास गरेका छन् । १ सय ७३ रोपनी क्षेत्रमा फैलने भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभा रहनेछ। तीन वर्षमा बन्ने उक्त भवनको लागत पाँच अर्ब ३० करोड रहेको छ । हाल नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसद सञ्चालन हुँदै आएको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई सरकारले वार्षिक १५ करोड भाडा तिर्ने गरेको छ।