काठमाडौँ – सिंगापुरमा आजदेखि सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपाल पहिलो खेलमा जिम्बाब्बेसंग ५ विकेटले पराजित भएको छ ।


ADVERTISEMENT


सिंगापुरको इण्डियन एशोसिएसनको मैदानमा टस जितेर ब्याटिङ राजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनायो । १३३ रनको सामान्य लक्ष्य पच्छ्याएको जिम्बाब्बे १८.१ ओभरमा ५ विकेटको क्षतीमा लक्ष्य पूरा गरेको हो ।


ADVERTISEMENT

# # #


नेपाली युवा स्पिनर सन्दीप लामिछानेले जिम्बाब्बेलाई सुरुमा खुलेर खेल्न दिएनन् ।सन्दीपले सुरुवाती तीन ब्याट्सम्यानलाई डकआउटमा पेवेलियन पठाएपछि जिम्बाबे दबाबमा आएको थियो । तर रायन बुर्ल र रिचमण्ड मुटुम्बाम्बीले ८ ओभरमा अविजित ६९ रनको साझेदारी गरेपछि नेपाल पराजित भएको हो । त्यसक्रममा रायन बुर्लले ३६ बलमा २ छक्का र ३ चौकाको मदतमा ४१ रन बनाए ।

यस्तै मुटुम्बाम्बीले २८ बलमा ४ छक्का र एक चौका सहित ४० रन जोडे । उनले कुशल मल्लको एकै ओभरमा ३ छक्कासहित २३ रन प्रहार गरे । यस्तै विरेन चारीले १९ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा मात्र १५ रन खर्चिएर ३ विकेट चट्काए । यस्तै कप्तान पारस खड्काले एक विकेछ लिँदा अन्य बलरले राम्रो बलिङ गर्न सकेनन् ।

यसअघि नेपालका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाए । सन्दीप जोरासंग पाँचौ विकेटका लागि सर्वाधिक ३४ रनको साझेदारी गरे । त्यसक्रममा उनले ३३ बलमा ५ चौका प्रहार गरे ।

यस्तै सन्दीप जोराले १५ बलमा २ चौकाको मदतमा १७ रन बनाए । यसअघि कप्तान पारस खड्काले १८ रन बनाए । उनले २२ बलमा ३ चौका प्रहार गरे । आरिफ शेख ८ रनमा आउट हुँदा डेब्यू गरेका इशान पाण्डे र कुशल मल्ल क्रमशः ४ र २ रनमा आउट भए ।

विनोद भण्डारी ११ रनमा नटआउट रहँदा सोमपालले आक्रामक खेले । उनले १४ बलमा २५ रन बनाउँदा ३ छक्का ठोके ।

जिम्बाब्वेका लागि कप्तान सिन विलियम्सले २ विकेट लिए भने विलिंटन मासाकाड्जा, टेन्डाई चतारा, नेभिल माद्जिभा र टिनोटेण्डा मुटोम्बोड्जीले समान १–१ विकेट हात पारे ।

नेपालले आफ्नो दोस्रो खेल भोलि आयोजक सिंगापुरसंग खेल्नेछ ।