काठमाडौं । बुद्ध एयर प्रालि यस वर्षको ‘बेस्ट म्यानेज्ड कम्पनी’ अवार्डबाट सम्मानित भएको छ । शुक्रवार काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित छैठौं ‘न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड–२०१९’ मा उक्त कम्पनीलाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो । कम्पनीको पारदर्शिता, नियमनको अनुपालना, सार्वजनिक छविलगायतका विभिन्न मापदण्डका आधारमा जुरीले कम्पनी छनोट गरेको हो । कम्पनी छनोटका आधारहरूमा व्यवस्थापनको गुणस्तर, व्यवसायको सामाजिक महत्व, संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को परिपूर्ति पनि रहेका छन् ।


ADVERTISEMENT


यसैगरी ‘लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप’ अवार्डबाट द्वारिकाज होटलका अध्यक्ष अम्बिका श्रेष्ठलाई सम्मान गरिएको छ । नेपाली उद्योगको क्षेत्रमा दिएको अतुलनीय योगदानको कदर गर्दै ८७ वर्षीया श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले बताएको छ । उनी नेपालको पहिलो बुटिक होटल द्वारिकाज होटलको संस्थापक अध्यक्षसमेत हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा ‘बेस्ट म्यानेज्ड कमर्शियल बैंक’ अवार्डबाट एभरेष्ट बैंक लिमिटेड सम्मानित भएको छ । यही विधामा ‘फर्स्ट रनरअप’को अवार्ड स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड र ‘सेकेन्ड रनर अप’को अवार्ड एनआईसी एशिया बैंक लिमिटेडलाई प्रदान गरिएको छ ।

यस वर्षको ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक’ अवार्डबाट गण्डकी डेभलपमेन्ट बैंक लिमिटेडलाई सम्मान तथा अवार्ड प्रदान गरिएको छ । यही विधामा ‘फर्स्ट रनरअप’को अवार्ड गरिमा डेभलपमेन्ट बैंक लिमिटेड र बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक र ‘सेकेन्ड रनर अप’को अवार्ड मुक्तिनाथ डेभलपमेन्ट बैंक लिमिटेडलाई प्रदान गरिएको छ ।

‘बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी’ अवार्ड श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले पाएको छ । सोही विधामा ‘फर्स्ट रनरअप’को अवार्ड आईसीएफसी फाइनान्स कम्पनी लिमिटेड र ‘सेकेन्ड रनर अप’को अवार्ड पोखरा फाइनान्स कम्पनी लिमिटेडलाई प्रदान गरिएको छ ।

यस वर्षको ‘बेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी’ अवार्ड छिमेक लघुवित्त वित्तीय संस्थालाई प्रदान गरिएको छ । सोही विधामा ‘फर्स्ट रनरअप’को अवार्ड फरवार्ड कम्युनिटी लघुवित्त वित्तीय संस्था र ‘सेकेन्ड रनर अप’को अवार्ड स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले पाएका छन् ।

‘बेस्ट म्यानेज्ड लाइफ इन्सुरेन्स कम्पनी’ अवार्ड नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड –एनएलआईसीले पाएको छ । सोही विधाको ‘फर्स्ट रनर अप’मा सुर्या लाइफ इन्सुरेन्स कम्पनी लिमिटेड र ‘सेकेन्ड रनर अप’मा एशियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडलाई अवार्ड प्रदान गरिएको छ ।

यस्तै ‘बेस्ट म्यानेज्ड जनरल इन्सुरेन्स कम्पनी’ अवार्डबाट शिखर इन्सुरेन्स कम्पनी लिमिटेड सम्मानित भएको छ । सोही विधामा ‘फर्स्ट रनरअप’को अवार्ड नेको इन्सुरेन्स कम्पनी लिमिटेड र ‘सेकेन्ड रनर अप’को नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडलाई प्रदान गरिएको छ ।

यस वर्षको बेस्ट स्टार्ट अप कम्पनीको अवार्ड इकोसेल इन्डस्ट्रिज, काठमाडौंलाई प्रदान गरिएको छ । यसैगरी विशेष सम्मान बनाएको स्टार्ट अप कम्पनीको रुपमा मेरो किनमेल चितवनलाई सम्मान प्रदान गरिएको छ ।

कार्यक्रमको उद्घाटन संघीय अर्थमन्त्री डां. युवराज खतिवडाले गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा ‘समृद्धिका लागि पर्यटन स् उत्कृष्ट अनुभव आदानप्रदान’ विषयको कन्क्लेभमा मेकङ टूरिजमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्स थ्राएहार्ट, भुटानका पर्यटन उद्यमी सोनाम जात्सो, लाओ टूरिजम मार्केटिङका उपमहानिर्देशक बाउनलाप दोउआङफोमी र होटेल एशोसियशन नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले आ–आफ्नो प्रस्तुति दिएका थिए । सो क्रममा उनीहरुले आ–आफ्ना अनुभव सबैमाझ राख्दै आर्थिक समृद्धिका लागि दीगो पर्यटन आवश्यक रहेकोमा जोड दिएका थिए ।

यसका साथै पर्यटन क्षेत्रका सरकारी तथा निजी क्षेत्रका सरोकारवाला व्यक्तिहरुसँग नेपालको पर्यटन क्षेत्रको विकासका सम्बन्धमा प्यानल छलफल समेत भएको थियो । कार्यक्रममा सार्वजनिक तथा निजी क्षेत्रमा क्रियाशील उच्च तहका व्यवसायी, राजनीतिज्ञ, सरकारी, बैंकिङ, ट्राभल एण्ड पर्यटन क्षेत्र र अन्य क्षेत्रका गरी ५०० भन्दा बढी व्यवसायीको सहभागिता रहेको थियो ।

न्यु बिजनेश एजले सन् २०१३ देखि आयोजना गर्दै आएको यस कार्यक्रमको टाइटल स्पोन्सरको रूपमा एशियन पेन्टस् रहँदै आएको छ । सन् २०१५ मा भने विभिन्न कारणले यो कार्यक्रम हुन सकेको थिएन ।