महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालसंग गरिएको कुराकानी :


ADVERTISEMENT


तपाई भर्खरैमात्रै महानगरीय ट्राफिक प्रहरी प्रमुखको रुपमा आउनु भएको छ । जिम्मेवारीलाई कसरी निभाइरहनु भएको छ ?


ADVERTISEMENT

# # #


म आउनु भन्दापहिले ट्राफिक व्यवस्थापन जुन गतिमा थियो, त्यसलाई अझ बढाउने गरी हामी लागी परेका छौँ । उपत्यकाको ट्राफिक व्यवस्थापन अत्यन्त चुनौतिपूर्ण कुरा हो । त्यसकारण प्रत्येक पटक प्रहरीप्रमुख आउँदा आम नागरिकमा उसको कार्यकालमा ट्राफिक सहज, सरल होस् भन्ने अपेक्षा हुन्छ । यसलाई मध्यनजर गरेर र अर्को विषय भनेको ट्राफिक अस्तव्यस्तताको कारण घट्ने घटनालाई पनि न्यूनिकरण गर्ने उद्देश्य राखेर हामी काम गरिरहेका छौँ । उपत्यका ट्राफिकमा १३६८ जनशक्ति र ४४ वटा युनिट खटेर यहाँको व्यवस्थापनलाई चुस्त बनाउने, हरेक चोकको आवागमनलाई सहज बनाउने काममा हामी लागिराखेका छौँ । भोलिका दिनमा अझ राम्रो बनाउनका लागि प्राथमिकताहरु हामीले ठम्याएका छौँ ।

के हुन् ती प्राथमिकता ?

उपत्यकामा जति पनि ट्राफिकहरुको उपस्थिति छ, त्यो अन्तर्राष्ट्रिय स्तरको होस् भनेर हामीले विशेष फोकस गरेका छौँ । यस्तै दोस्रो भनेको जतिपनि ट्राफिक नियमका कुराहरु छन्, ती नियमहरुको कार्यान्वयनका लागि पनि अत्यन्तै कडाईका साथ लाने, कडाई कसरी भन्दा नागरिकसंग एकदमै विनम्र व्यवहार गरेर । तेस्रो कुरा भनेको नागरिकलाई हामीले शिक्षित बनाउने । शिक्षित यस मानेमा कि सबै नागरिकलाई ट्राफिक नियम थाहा छैन । त्यसकारण थाहा दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । अर्को ट्राफिक प्रहरीले गर्ने ‘थ्री ई’को विषय छ । त्यो भनेको, एउटा ‘एजुकेशन’, ‘इन्फोर्समेन्छ’ र ‘इन्जिनियरिङ्ग’ ।  यी तीनवटा कुराहरुलाई हामीले प्राथमिकतामा राखेका छौँ । ट्राफिकदेखि पैदलयात्रीसम्मलाई ट्राफिक शिक्षा र चेतनाको विकास गराउने प्रयासमा हामी लाग्छौँ ।

अर्को प्रविधिमैत्री बन्ने । विश्वको मापदण्ड अनुसार हामी जानुपर्छ । विदेशमा देखिएको ट्राफिक व्यवस्थापनको कुरा हाम्रोमा लागू गर्नुपर्छ भन्ने हामीले सोचेका छौँ । जसमा सीसीटीभी विस्तार, ट्राफिक लाईट विस्तार लगायत प्रविधिसंग जोडिएका कुराहरु व्यवस्थापन गरेर हाम्रो काम कारबाहीलाई सहज र सरल बनाउने हो । धेरै जाम हुने स्थानमा अधिकतम जनशक्ति खटाएर हिजोको भन्दा आज २-४ मिनेट कम जाममा बस्नुपरोस् भनेर लागीपरेका छौँ ।

यो बेला दशैँको पनि समय छ । लाखौँको संख्यामा यात्रु दशै मनाउन घर जाने भएकाले अत्याधिक जाम हुने गर्छ । यस्तै यात्रुको सुरक्षाको कुरा पनि आउँछ । यसबारे के योजना छ ? 

यो एकदमै महत्वपूर्ण कुरा हो । बसपार्कमा यात्रु नगठिउन्, उनीहरुलाई घर जाँदा दुःख नहोस् भनेर हामीले नागरिक सहायता कक्ष राखेका छौँ । काठमाडौँ उपत्यकामा अहिले नागरिक सहायता कक्ष १४ ठाउँमा स्थापना गरेका छौँ । चाडवाडमा दुर्घटना अत्याधिक हुने गरेका छन् । त्यसको विश्लेषण हामीले गरेका छौँ । त्यसबाट धेरै घटनामा चालकको लापरबाही देखिन्छ । लापरबाही किन भयो भन्दा एउटा कारण मादक पदार्थ सेवन देखेका छौँ । मापसेलाई नियन्त्रण गर्ने कुरा हामीले एकदमै महत्व दिएका छौँ । दिनमा चार पटक मापसे चेक गर्ने व्यवस्था मिलाउने योजना बनाएका छौँ ।

एउटा मात्रै चालक भएका कारण ठूला दुर्घटना भएको हामीले देखेका छौँ । त्यसकारण लामो दुरीका विशेष गरी रात्री बसहरुमा दुई वटा चालक राखिएको छ कि छैन भन्ने कुराको निगरानी नागढुंगामा प्रविधिले गरिरहेको छ । यस्तै दुव्र्यवहार र अपराध रोक्नका लागि हामीले सादा पोशाकका कर्मचारी खटाएका छौँ । यस्तै सम्बन्धित निकायको सम्वन्वयमा गाडी चलाउन योग्य छ कि छैन भनेर चेक गरिरहेका छौँ ।

के कारणले जाम भएको पाउनु भयो ?

काठमाडौँ उपत्यकामा जम्मा सडक २ हजार १४ किलो मिटर छ । यहाँ गुड्ने डाडी १२ लाखभन्दा बढी छ । सडक र सवारी साधानको हिसाब गर्ने हो भने एक किलोमिटर सडकमा ६–७ सय गाडी पर्न आउँछ । त्यसमा पनि अहिले कतिपय ठाउँमा मर्मत भइराखेको, कतिपय ठाउँमा सडक अप्रयाप्त भएको अवस्था पनि छ । सरकारले अहिले विकास निर्माणका कार्यलाई तीव्रता दिएको छ । सडक मर्मत गर्नुपर्यो, विस्तार गर्नुपर्यो । यसले ट्राफिकलाई केही न केही प्रभावित बनाएको छ । तर, यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ कि केही दिन प्रभावित भएपनि बनिसकेपछि सहज हुन्छ ।

यसलाई कसरी अन्त्य गर्ने ?

जाम हुने भनेको चोकहरुमा हो । त्यहाँ अण्डरपास बनाउने, करिडोर बनाउने, अन्य ट्रयाक खोल्ने काम पनि भइरहेको छ । यस्तै पैदल यात्रुका कारण पनि जाम हुने भएकले ठाउँठाउँमा आकाशे पुलहरुको व्यवस्था गर्ने काम पनि हुँदै । यस्तै हामीले भर्खरै करिब ५ सयबढी युवा र विद्यार्थी साथीहरुलाई एक दिनको अनुशिक्षण दिएर स्वयम्सेवक ट्राफिकका रुपमा परिचालन गरेका छौँ । उहाँहरुले ‘पिक आवर’मा उपत्यकाको २५ स्थानमा सेवा दिइरहनु भएको छ । उहाँहरुले यति गरिदिँदा पनि हामीलाई धेरै सहयोग पुगेको छ ।

कतिपय जाम हुने भनेको सडकमा भएका स–साना खाल्डाका कारणले हो । एउटा गाडी तेस्रो हुनेबित्तिकै एक मिनेटमै ३०–४० गाडीको लाम बनिसक्छ । यस्तै कतिपय ठाउँमा ढल र पानीका कारण पनि जाम भइरहेको छ । जुन हाम्रो नियन्त्रण बाहिरका कुरा हुन् । तर, त्यसको विकल्पका लागि हामी सक्ने उपायहरु गरिरहेका छौँ ?

अहिले चाडपर्वको मौसम छ । सेवाको प्रकृतिले गर्दा सुरक्षाकर्मीले चावपर्वमा घर जान पाउँदैनन् । चौबिसै घण्टा खट्ने ट्राफिक प्रहरीले कसरी दशैँ मनाउँछन् ?

यो एकदमै महत्वपूर्ण कुरा हो । जब डिटी राम्रो गर्छौँ, त्यहाँ रमाइलो हुन्छ । हामी सुरक्षाकर्मी भएका कारण हाम्रो कानुनले चौबिसै घण्टा उपलब्ध रहनुपर्छ भन्छ । सबैभन्दा ठूलो कुरा भनेको देशको सेवा हो । रमाइलो गरिरहेकाहरुलाई सुरक्षा प्रदान गर्ने जिम्मेवारी बहन गर्नु पनि आफैमा एउटा सौभाग्यको कुरा हो । व्यक्तिगत कुरा गर्दा मैँले सेवा गर्न थालेको २४ वर्ष भयो । आजसम्म मैँले तीन पटक मात्रै घरमा दशैँ मनाउने मौका पाएको छु । त्यसकारण हाम्रो पहिलो प्राथमिकता भनेको जनताको सेवा हो । देशको सेवा हो । हाम्रो घर भनेकै प्रहरी कार्यालय हो । यो कुरा सबै सहकमीहरुले बुझेका छौँ । यद्दपी सुरक्षाकर्मीले रमाइलो गर्दैनन् भन्ने होइन । हामी पनि डिउटी सकेपछि कार्यालयमा रमाइलो गर्छौँ ।

अन्त्यमा, के भन्नुहुन्छ ?

फिल्डमै खटिने यातायात चालक, प्रहरीलाई हामी के भन्न चाहन्छौँ भने, यो ट्राफिक व्यवस्थापन हामी सबैको दायित्व हो । सबैले इमान्दार भएर नियमपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । यस्तै ट्राफिक सहकर्मीहरुले पनि हाम्रो सिद्धान्त ‘व्यवहार राम्रो गर्ने, नियम कडा गर्ने’ अनुरुप काम गर्नुपर्छ । अन्त्यमा सुखद चाडपर्वको सबै नेपालीहरुलाई ट्राफिक प्रहरीको तर्फबाट शुभकामना दिन चाहन्छौँ ।