काठमाडौँ, असोज १७ गते । नेपाल र मित्रराष्ट्र चीनबीचको सम्बन्ध प्राचीन कालदेखि नै सुमधुर रहँदै आएको छ । व्यापारिक तथा जनस्तरमा मात्र सीमित नभई यी दुवै देशबीचको सम्बन्ध सरकार स्तरमा पनि सबल र सुदृढ रहँदै आएको छ । चीन र नेपालबीचको आधुनिक सम्बन्धको चर्चा गर्दा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको चीनको औपचारिक भ्रमण ऐतिहासिक र उच्चस्तरको रहेको थियो । बीपीको चीन भ्रमणपछि चीनका राष्ट्रपति चाउ एन लाईले नेपालको राजकीय भ्रमण गर्नुभएको थियो ।
नेपाली काँग्रेस र चीनबीचको सम्बन्ध बीपीको पालामा मात्र सुदृढ भएको होइन, गिरिजाप्रसाद कोइरालाले पनि त्यसलाई निरन्तरता दिनुभयो । उहाँको चीन भ्रमण पनि उल्लेखनीय रह्यो । उहाँले नेपाल र चीनबीचको भ्रमणलाई उच्च प्राथमिकतामा राखेर चीनको औपचारिक भ्रमण गर्नुभयो । भ्रमणमा चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि गएर एक चीन नीतिको पक्षमा नेपाल रहेको स्पष्ट सन्देश दिएर उहाँ फर्कनुभएको थियो ।
दुई देशबीच उच्चस्तरको भ्रमण हुने र सहयोग आदानप्रदानले दुवै देशबीचको सम्बन्ध राम्रो, दह्रो र बलियो बनाउन सहयोग पुग्यो । प्रधानमन्त्रीको हैसियतमा मात्र होइन, गिरिजाप्रसाद कोइरालाले काँग्रेसको पार्टी सभापतिको हैसियतले पनि दुई पटक चीन भ्रमण गर्नुभएको थियो । एउटा भ्रमणमा त म पनि उहाँसँग सहभागी थिएँ । नेपाली काँग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीबीच पनि उत्तिकै राम्रो सम्बन्ध छ ।
चीनका राष्ट्रपति सी जिनपिङको नेपालको औपचारिक राजकीय भ्रमण हुनु नेपालका लागि ठूलो अवसर हो । राष्ट्रपति सीको नेपाल भ्रमण हुने समाचारले नेपाली एकदमै खुसी भएको मेरो बुझाइ छ । यस्ता उच्चस्तरीय भ्रमणले हाम्रो सम्बन्ध पनि अझै राम्रो र प्रगाढ हुँदै जाने छ । प्राचीन कालदेखि दुई देशबीच रहँदै आएको व्यापार अझ राम्रो हुने छ । भारतका प्रधानमन्त्रीको १६ वर्षपछि नेपाल भ्रमण भएको थियो । अब चीनका राष्ट्रपतिको नेपाल भ्रमण हुनु ज्यादै सकारात्मक विषय हो । विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति बन्न सफल चीनका ठूला र प्रभावशाली नेताको नेपाल भ्रमण हुनुमा हामी सबैजना खुसी छौँ । यस भ्रमणले हाम्रो सम्बन्ध अझ सुमधुर र सुदृढ बनाउन सहयोग पुग्ने छ ।


ADVERTISEMENT


राष्ट्रपति सीको नेपाल भ्रमणलाई सफल बनाउन नेपाल सरकारले उच्चस्तरको तयारी गर्नुपर्छ र गरेको होला भन्ने मलाई लागेको छ । विभिन्न समाचार माध्यममा आएअनुसार नेपालले आफ्नो प्राथमिकतालाई गहन ढङ्गले राख्ने नै छ । भ्रमणका विषयमा हामीलाई औपचारिक वा अनौपचारिक रूपमा कुनै जानकारी दिइएको छैन । हामीले ठूलाठूला सडक निर्माण, सुरुङहरूको निर्माण गर्न चिनियाँ सहयोग र प्रविधिलाई प्रयोग गर्न सक्छौँ । एउटा पहाडदेखि अर्को पहाडसम्म जानका लागि बनाउनुपर्ने पुल कसरी बनाउन सकिन्छ भन्ने प्रविधि चीनसँग छ । यस्ता क्षेत्रमा हामीले सहयोग लिन सक्छौँ, यस्ता अवसरबाट लाभान्वित हुन चुक्नु हुन्न । ठूलो परिमाणमा खेती गर्ने प्रविधि भिœयाउन सक्नुपर्छ ।
यसैगरी नेपालको तराई क्षेत्र बाढी तथा डुबानबाट पीडित रहँदै आएको छ भने पहाडी क्षेत्रमा पहिरोले ठूलो नोक्सान पु¥याउँदै आएको छ । २०७२ सालमा आएको भूकम्पले पनि नेपाललाई सताएको छ । यस्ता विषयमा सरकारले व्यापक छलफल गरेर नेपाललाई अधिकतम फाइदा हुने गरी संवादलाई राम्रोसँग अगाडि बढाउनुपर्छ । जहाँ भारतसँग लिनुपर्ने हुन्छ, त्यहाँ भारतसँग लिनुपर्छ र अन्य ठाउँमा चीनसँग सहयोग लिनु उचित हुने छ । नेपाल विकासोन्मुख राष्ट्र भएकाले समृद्ध राष्ट्र चीनसँगको अपेक्षा स्वाभाविक रूपमै बढी हुन्छ । हाम्रो देश विकासका लागि एउटा ठूलो अवसर आएको छ । यसलाई हामीले राम्रोसँग सदुपयोग गर्न सक्नुपर्छ ।


ADVERTISEMENT

# # #


नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने अभियान सञ्चालन गरिरहेको छ । चीनका राष्ट्रपति सीको नेपाल भ्रमणले नेपालको चर्चा संसारभर फैलिने छ । उहाँको भ्रमणबाट हामीले के पायौँ के पाएनौँ भनेर पैसासँग मात्रै सम्बन्ध तुलना गर्नु हुन्न । मित्रता त अमूल्य हुन्छ । राष्ट्रपतिको भ्रमणले मात्रै पनि नेपाललाई धेरै ठूलो फाइदा हुन्छ । नेपालको छवि माथि उठ्छ, विश्वका पर्यटक नेपाल भ्रमणमा आउन प्रेरणा मिल्छ । नेपालमा नअट्ने र हामीले कल्पनै नगरेका पर्यटक नेपाल आउन सक्छन् । यहाँको प्राकृतिक सौन्दर्य, प्राचीन कला र संस्कृतिले संसारका पर्यटकलाई मोहित पारेको छ । तर राम्रो व्यवस्थापन गर्न हामी अहिलेदेखि नै जुट्नुपर्छ । हाम्रा कर्मचारीले पनि भावी पुस्ता र देशका लागि राम्रो गर्ने अवसरका रूपमा लिनुपर्छ । राष्ट्रपति सीको भ्रमणलाई सफल बनाउन हामी सबै लाग्नुपर्छ ।

राष्ट्रपतिको भ्रमणबाट नेपालमा कम्युनिस्ट विचारको प्रभाव बढ्छ कि भनेर चर्चा भएको पाइयो । यो सत्य होइन । हाम्रो आफ्नै राजनीतिक प्रणाली छ, चीनको आफ्नै खालको छ । हरेक मुलुकका आआफ्नै मूल्य, मान्यता र अभ्यास हुन्छन् । त्यसले त्यहाँको राजनीतिक प्रणालीलाई अगाडि बढाएको हुन्छ । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा म चीनको एउटा ठूलो अन्तर्राष्ट्रिय सम्मेलनमा गएको थिएँ । संसारभरका नेताहरू बेइजिङमा भेला भएका थिए । त्यहाँ राष्ट्रपति सीले यही कुरा भन्नुभएको थियो, त्यो मलाई एकदम याद छ । उहाँको त्यो भनाइले मलाई एकदमै छोयो । उहाँले त्यही कुरा भन्नुभएको थियो, हरेक मुलुकको आआफ्नो संस्कृति, परम्परा र राजनीतिक अभ्यास हुन्छ । अरूको राजनीतिक प्रणालीलाई प्रभाव पार्ने हाम्रो अभ्यास पनि हुँदैन ।
हाम्रो इच्छा भनेको संसार नै सुखी होस्, सबैतिर विकास होस् । हाम्रो सम्बन्ध जल, जमिन र आकाशबाट पनि जोडियोस् । उहाँजस्तो विश्वको ठूलो नेताले नेपालको राजनीतिक प्रणालीलाई असर पार्ने कार्य गर्नुहुन्छ भन्ने कल्पना नै गर्नु हुन्न । यहाँका कम्युनिस्ट तथा नेता कार्यकर्ताले त्यस्तो सोचाइ राखेका छन् भने पनि त्यो भ्रममा पर्नु हुन्न ।
यस भ्रमणलाई सरकारले उच्च तहको तयारी गर्नुपर्छ । उहाँको भ्रमणलाई सरकारले कम्युनिस्ट पार्टीको सफलताका रूपमा मात्रै लिन खोज्यो भने त्यो गलत हुने छ । पार्टीभन्दा माथि उठेर देश र जनताको भलाइ, दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सरकार लाग्नुपर्छ । साथै मित्रराष्ट्र चीनबाट प्राप्त हुने सहयोग र सद्भावलाई पार्टीको हितमा होइन जनता र नेपाल राष्ट्रको हितमा सदुपयोग गरिनुपर्छ । भ्रमण सफल बनाउन हामी सबै लाग्नुपर्छ भन्ने मलाई लाग्छ ।

(नेपाली काँग्रेसको विदेश विभाग प्रमुख भइसक्नुभएकी पूर्वउपप्रधान तथा विदेशमन्त्री सुजाता कोइरालासँग गोरखापत्रका पत्रकार नारद गौतमले गर्नुभएको कुराकानीमा आधारित) साभार गोरखापत्रक