गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्यले उम्मेदवारी दर्ता गरेका छन्।


ADVERTISEMENT


बुधबार मध्यान्ह १२ बजेसम्म तोकिएको उम्मेदवारी दर्ताको समयभित्र पन्त र आचार्यले मात्रै अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।


ADVERTISEMENT

# # #


एनआरएनएमा पहिलो पटक अध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो।

गोरखा फुजेलका पन्त जर्मनीमा र पर्वतका आचार्य बेलायतमा रहेर व्यवसाय गर्छन्।

उनीहरू स्थापनाकालदेखि नै एनआरएनएमा सक्रिय छन्। पन्त र आचार्यले बेग्लाबेग्लै समूह नै बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

यसपटक एनआरएनएमा राजनीतिक माहोल पनि देखिएको छ। उम्मेदवारहरू राजनीतिक कित्ताकाटअनुसार प्यानल घोषणा भएका छन्।

पन्तले प्रगतिशील र आचार्यले प्रजातान्त्रिक समूह बनाएर प्यानल बनाए पनि संस्थामा राजनीति नघुसाएको उनीहरूले तर्क गर्छन्।

राजनीति गरेको भन्दै एनआरएनएका केही पूर्वअध्यक्षहरू भने सम्मेलनमा सहभागी रहेनन्।

सम्मेलनमा भाग लिन ८१ देशबाट करिब दुई हजार पाँच सय प्रतिनिधि काठमाडौं आएका छन्।

अध्यक्षसहित १२ पदमा ४२ जना सम्मेलनबाट चुनिनेछन्।

एनआरएनएमा एक महिलासहित पाँच जना उपाध्यक्ष रहन्छन्। उपाध्यक्षका लागि पनि दुवै प्यानलबाट उम्मेदवारहरूले उम्मेदवारी दिएका छन्।

एनआरएनएको नवौं विश्व सम्मेलन मंगलबार काठमाडौंमा सुरू भएको थियो । सम्मेलन होटल हायातमा भइरहेको छ।