– मिठुलाल चौधरी

कैलालीमा द्वन्द हुँदा भएको भागदौडमा थारुहरुले के गुमाएनन ? , घर जलाएर खरानी बनाइयो,भएको सम्पत्ति लुटपाट भयो । यौनहिंसा को प्रताडना भोगे,हजारौं बाजेबज्यैले समेत चड्कनको उपहार पाए । लुटिएका कुटिएका पिडाबोधको अनुभुत गरेका थारुहरुले आफ्नो मत निर्वाचनमा देखाइदिए । चौधरीले प्राप्त गरेको एकतिहाई मत पनि नपाएको नेकपाले हामी टिकापुरको जनताको नजरमा कत्ति तल रहेछौं भन्ने अनुमानको आँकलन गर्न नसक्ने हो भने भोलिहुने निर्वाचनमा सोपडा साप भन्दा अर्को विकल्प नै छैन । राजनैतिक दलले जनताको भावना बुझ्नुपर्छ, उनको असन्तुष्टि बुझ्नुपर्छ ।


ADVERTISEMENT

# # #


कयौं बर्षदेखि मजदुरीको ज्याला नपाएको, आफू दमन शोषणमा परेको आफ्नो आवाज सुनाउने ठाउँ कतै नपाएको थारुले थरुहट आन्दोलनलाई अफनत्व सम्झ्यो । हामीले थारुको भावना र चाहना बुझ्न सकेका रहेनछौँ भन्ने अनुभुती प्रत्येक राजनैतिक दलले गर्न सक्नुपर्छ । अहिले टिकापुरदेखी च्यात्तिन थालेको थारुको मन कंचनपुर हुँदै झापा पुगिसक्यो । पहिचानबादी लिम्बुवान,खुम्बुवान,मगरात,नेवा ताम्सिलिङ हुँदै तमुवान दलितसंगै जोडिइसक्यो । राजनैतिक अन्वेषकहरुलाई यो पक्कै थाहा छ तर पनि खोइ किन हो सबै दलहरू तैँ चुप मै चुप छन ।

भाद्र ७, ८ र ९ गते टिकापुरमा थारुहरुले कालो दिवस मनाउने निर्णय गरे । यो निर्णय सुन्ने बित्तिकै सरकार यति सतर्क भयो कि मानौँ टिकापुरमा घोषित युद्ध हुँदैछ । पाँच हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरियो । टोलटोलमा चोकचोकमा सुरक्षाकर्मी परिचालित भए । फेरि थारुहरुलाई मनोबैज्ञानिक भय देखाउने कोशिश गरियो तर देशभरका थारुहरुको आड पाएका टिकापुरका थारुहरुले पहुनी (पाहुना)  खुवाउन तयार भए । मेचीदेखि काली सम्मका थारुहरु टिकापुरमा आएपछि निरकुंशताको कुर्सीबाट रावलको फेरि हुंकार भयो : खबरदार ! फेरि हिंसा होला । त्यही मञ्चबाट पुर्व प्रधानमन्त्री बाबुराम गर्जिए : होसियार ! अब तिम्रो दमनबाट कोही तर्सिनेछैन ।

त्यही मञ्चमा वरिष्ठ पत्रकार किशोर नेपाल थिए,खगेन्द्र संग्रौला,युग पाठक थिए । टिकापुरका पहाडी समुदायले यसपालि तिनै सामन्तीपट्टी चोरऔँला ठड्याउँदै खबरदारी गरे – माफ गर्नुहोला यसपालि हामी मन फाटेका हाम्रो छिमेकी थारुहरुसंग छौँ । सामन्तीहरुको टाउको तब निहुरियो जब टिकापुरका पहाडी समुदायले देशभरबाट आएका थारुहरुलाइ हातहातमा फुल र पिउने पानीले स्वागत गरे । आमन्त्रित थारुहरुका लागि पहाडी समुदायले नगर सफा गरे, हल बस्ने खानेमा सक्दो सहयोग गरे ।

भिम रावल,लेखराज भट्ट,शेर बहादुर देउवाहरु तब चकित परे जब उनका कार्यकर्ताले उनको निर्देशन होइन आफ्नो विवेकले टिकापुरे थारुहरुमा समर्पित भए । भाद्र ७ गतेपछि फेरि टिकापुर जुरमुराउन थालेको छ । पहाडी थारू समुदाय एक आपसमा मिलिजुली गर्न थालेका छन् । यहि मित्रतालाई कायम राख्न टिकापुर नगरपालिका प्रमुख तपेन्द्र रावलले भने : हामीलाई प्रतिनिधि बिहिन राख्न पाइन्न, रेशम चौधरीको रिहाई हाम्रो पनि माग हो ।

के ले टाल्ने के ले सिउने हो ?

२०७२ भाद्र ७ गतेदेखि भएको घटनाले थारु पहाडी समुदाय एकअर्कामा दुश्मन झैँ प्रस्तुत भए । केहि सुरक्षाकर्मी र अबोध बालकको साहदातले पहाडी समुदाय आक्रोशित भएकै हुन् । सरकारी कर्फ्युका बीचमा थारुहरुको घर र सम्पत्तिमा आगो लगाइएकै हो । अधिकारको लागि आन्दोलनमा आएका थारुहरुको हक र निष्ठालाई सातसाल पन्ध्रसाल बेहोरेका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समेत बुझेनन् । जनयुद्धको नाममा आज डोल्पा आज अछाम आज दुनै हान्छौँ भन्ने घोषित युद्धगर्ने माओवादीले समेत बुझेनन् । थारुवान प्रदेशको घोषणा गर्ने थारुवान प्रदेश प्रमुख लेखराज भट्ट जसले जनयुद्धको समयमा थारुहरुको घरमा आश्रय लिएर थारु राज्यका लागि भाषण र थारु शासनको कुरा गर्थे उनी त्यो आन्दोलनको घोर बिरोधि भए । यी सब नियालिरहेका थारुहरुले अन्ततोगत्वा आफ्नै घर प्यारो भन्दै आफ्नो आन्दोलनमा आफ्नै नेतृत्व खोज्दै समाहित भए । त्यही थारुहरुको झुन्डले रेशम चौधरी जस्तो नेता भेट्टाएको हो ।

सरकारले क्षतिपूर्तिका नाममा केहि रकम त प्रदान गर्‍यो तर तर त्यसले थारुहरुलाइ बिश्वास र भरोसा दिएन । थारुहरुलाई क्षतिपूर्ति होइन पहिचान चाहिएको थियो । उनीहरुको घाउमा मलम लगाउने काम राज्यले गरेन बरु अपार जनमतले जिताइएका थारु प्रतिनिधि रेशम चौधरीलाई झ्यालखानामा हालियो । थारु खाने थारु,थारुका नाममा राजनीति गर्ने थारु,दल हाम्रै पेवाले चल्छ भन्ने थारु नेताहरुको सोपडा साप भयो । देशभरमा तेस्ता थारु नेताहरु सबै हारे । पच्चीस बर्ष बिरासतमा खाएका स्वास्थमन्त्री रामजनम चौधरी, वातावरण राज्यमन्त्री जनकराज चौधरी,भुमिसुधार मन्त्री गोपाल दहित,भानुराम थारु,रुक्मिणी थारु सबैलाई चुनावी हुरिले हुर्‍याइदियो । थारुले बिश्वास खोज्दै त्यही अपेक्षामा नवनेता रेशम चौधरीको नियुक्ति गरिदियो ।

अहिले थारु समुदाय आफू अपमानित भएको,हेपिएको,दमित भएको बदला कसरी लिने भन्ने दाउमा छ । मौनम स्वीकृति लक्षणम् जस्तै भएको थारु मधेसीबाट समेत खुसी छैन । मधेसी नेता बनियाँ हुन् भन्ने सांसद रेशम चौधरीको लामो जेल बसाइबाट थारुले बुझिसकेको छ । अब थारुको समस्या समाधान गर्न रेशम चौधरीको रिहाई अनि वार्ताको विकल्प छैन । थारुहरुको मन कत्ति कुँडिएको छ त्यो त थारु कवियत्री इन्दुको ू अब टिकापुर बिस्फोट हुन्छूभन्नेबाट नै पुष्टि हुन्छ । टिकापुर विस्फोटका लागि सबै अवसरवादीहरु सल्बलाइरहेको अवस्था छ । थारुलाइ राज्यले बेलैमा बुझ्नुपर्छ । यो केवल नेकपा,कांग्रेस जस्ता ठूलादलको मात्रै समस्या होइन,यो राज्यकै समस्या हो । यसको निराकरणका लागि दलहरू विभाजित हुनुहुन्न । सबै राजनैतिक दलका प्रमुख नेताहरु थारुहरुको मन सिउन टिकापुरमै पुगेर माफी माग्नुपर्छ । पिडाको जलन जेलमा बस्ने रेशम चौधरीलाई होला तर दिल टिकापुरमा बस्ने थारुहरुको पनि दुखेको छ ।

थारुहरुको आन्दोलन आफुमाथी लादिएको दमनका विरुद्धमा थियोे । हिजो जोसंग पिडा खेप्दैथिए उनैको कुरा सुनेर अझै राज्य बहिरो बन्दैछ । राज्य संचालकले सुदुरपश्चिमका पहाडी नेताबाट थारुको समस्या समाधान हुन्न भन्नेमा बिस्वस्त हुनुपर्छ । केन्द्रीय राज्य संचालकले सोझै हस्तक्षेप गरेर यिनको समस्याको निदान गर्नुपर्छ । प्रधानमन्त्री,गृहमन्त्रीले बुझ्नेकुरा नै यही हो कि यो झगडा सुदुरपश्चिमको नेतृत्वको हानथापका लागि भएको हो । लोकतन्त्रमा जनतासंग भिज्नसक्ने नै नेता हुन्छ । आफ्ना मान्छे नचुनिएकै भरमा प्रतिशोध साँध्नुहुन्न । थारुहरु अहिले आफनत्व खोज्दैछन् त्यसैले सके हुनसक्ने प्रयत्न गरौं नभए उनलाई उनकै नेता चुन्ने अधिकारमा सहयोग गरौँ । उनको खुसीका लागि राज्यले बेलैमा सोचेनभने दुर्घटना निश्चित छ । भोलि पछुताएर केहिहुन्न, बेलैमा बुझ्नु बुद्धिमानी हो । अर्ती दियोभने अनादर सम्झिने नेपालीको नियती नै हो,यद्यपि यहि सत्यता हो । जो लेखियो सहि लेखियो,टिकापुरको ओलिको यात्रादेखि अहिले प्रधानमन्त्रीको यात्रासम्म सबै नजिकबाट नियालिनै रहेको छुँ ।

थारु त्यही धर्तीपुत्र हो, जसको इतिहास आजसम्म यो राज्यले लेख्नसकेको छैन । थारु आयातित होइनन् र निर्यातित पनि हुनसक्दैनन् । यहीँ थातथलो भएको यो समुदायको रक्षा सरकारले नगरे कसले गर्छ रु एउटा मान्छे आत्मघाती बन्दा सयौंको जिन्दगी बर्बाद गरिदिन सक्छभने सिङ्गो समुदाय चिढिए पछिको परिणामको भविष्य राज्यले नबुझे कसले बुझ्ने ? देश,नक्सा र राष्ट्रिय गीतको खाकासहित प्रस्तुत हुने सिके रावतले उन्मुक्ति पाउने अनि धर्तिपुत्रको बच्चोले अधिकार माँग्दा झ्यालखाना जानुपर्ने रु लोकतन्त्रमा जनताको अपार मत प्राप्तगर्ने सांसदलाई जेल हालेर हामी कुन जनताको अभिमतबाट राज्य संचालन गर्ने सपना देख्दैछौँ रु निरमा चोपलियको स्यालको राजा बन्ने सपना क्षणिक हुन्छ, वास्तविकतामा फर्किए मृत्यु भागिदारको विकल्प हुन्न । सिंह सिंह नै हो,स्याल स्याल नै हो त्यसैले सिंहले स्याललाई सत्ता सुम्पिने गल्ती कहिल्यै गर्नुहुन्न होइनभने राज्य भताभुङ्ग हुन्छ ।

पोहोरसाल खुशी फाट्दा जतनगरी मनले टालेँ,
यसपालि त मनै फाट्यो के ले टाल्ने के ले सिउने हो …

अरुणा लामाको यही गीतको परिचयका साथमा राजेन्द्र थापा टिकापुरको हजारौं दर्शकमाझ फूलबारी महोत्सवको मंच उक्ले । उनिसंगै मञ्चमा अहिलेका प्रधानमन्त्री केपी ओलि पनि थिए । तत्कालीन एमालेका कार्यकर्ताले बहिष्कार गरेको त्यो कार्यक्रममा ओलीलाई मञ्च चढाउने दुस्साहस रेशम चौधरीले फुलबारी महोत्सवमा गरेका थिए ।

हेलिकप्टरबाट पुष्पबृष्टि गरिएको उक्त कार्यक्रममा ओलीले गर्जदै भनेका थिए – मेरालागि आफ्नै पार्टी टाढा र रेशम चौधरी नजिक किनभए ? किनकि मेरो लडाइ हिँजोपनी सीमान्तकृतका लागि थियोे, आजपनि छ र भोलि पनि रहिरहने छ । टिकापुरको मानसिकता कस्तो सामन्ती संक्रमिताका साथ गाँजिएको रहेछ भन्ने आज प्रत्येक्ष अनुभुत गर्ने मौका पाएँ । ओलीले यसो भनिरहँदा दर्शकदिर्घाबाट तालिको फोहरा नै फुटेको थियो । ओलिले भाषण गरिरहँदा मञ्चमै बसेका वरिष्ठ कलाकार नीर शाह गमक्क परेर घरी रेशमलाई हेर्थे र घरी हाँस्दै ताली पिटिरहेका हुन्थे । कुनै समस्या पर्दा रेशमलाई भन्नू,मैले सक्नेजत्ती, गर्नेजत्तिमा कुनै कन्जुस्याइँ हुनेछैन भनी कबोल गरेको केपी ओलीको भिडियो रेकर्ड आजपनी सुरक्षित छ ।

तर रेशम आफै अन्यायमा परेर कैद छन् र देशको सर्बोच्च कार्यकारी पदमा उनै केपी ओली प्रधानमन्त्री छन् । हतारमा आएका केपी ओली त्यही हेलिकप्टरबाट काठमाडौ फर्किए । ओलीले गीतकार राजेन्द्र थापाको कविता सुनेनन्,यसले राजेन्द्र दुखी मात्रै भएनन् मंचमै असन्तुष्टि पोखे र भने- पर लैजाउ फुलहरु,नजिक नहोउ ताराजुन…।

दर्शकले फेरि परर ताली बजाइदिए । त्यो मञ्चमा थापाले एक दर्जन जति कविता सुनाए । कलाकारको कुम्भमेलामा राजेन्द्र खड्गी,आर्यन सिग्देल पनि थिए । द्वन्द निर्देशक राजेन्द्र खड्गीले व्यंग्य गर्दै भाषण गरे । रेशम जि मलाई तपाईदेखि दया लाग्यो। आयो दशै ढोल बजाउँदै गयो दशै ऋण बोकाउँदै । भन्नेहरू भासण ठोकेर हेलिकप्टरबाट काठमाडौं फर्के,हामी तपाईंको दुस्ख बुझ्नेहरु साथमै छौँ । उनको भासणमा नीर शाह लगायत कैलालीको सिडियो कैलाश कुमार बजिमयले पनि हाँसीहाँसी थपडी बजाए ।

कलाकारीतामै जीवन उत्सर्ग गर्ने गोपाल भुटानीको सालिक अनावरण कार्यक्रममा करिबकरिब दुई दर्जन कलाकार काठमाडौंबाट सहभागी भएका थिए । कैलालीमा त्यसबेला माधव नेपाल पक्षको बाहुल्यता थियोे र भिम रावल निकै शक्तिशाली मानिन्थे । आफू गृहमन्त्री हुँदा कलाकार गोपाल भुटानीलाई नागरिकता नदिएका रावलले आफ्ना निकटका कार्यकर्तालाईओलिको कार्यक्रम बहिष्कार गर्ने निर्देशन मात्रै होईन जिल्ला कमिटीमा बहिष्कारको लिखित निर्णय समेत गराएका थिए । टिकापुरका संस्थापक स्व. खड्ग बहादुर सिंहको सालिकसंगै गोपाल भुटानीको सालिक टिकापुरमा स्थापना गर्ने रेशम चौधरीको सपना चकनाचुर भयो । आफ्नो निजि लगानीमा गोपाल भुटानीको सालिक टिकापुर पार्कमा स्थापनाका लागि नगरपालिकालाई हस्तान्तरण गर्ने र उक्त कार्यकालागी पार्कमा जग समेत खनि सकिएको थियोे तर एमालेका कार्यकर्तासंगको विवादका कारण चौधरीले उक्त सालिक फुलबारी एफएमको प्राङ्गणमा ठड्याए ।

टिकापुरको चोकमा खड्ग बहादुरको सालिक स्थापना गर्दा सबै राजनैतिक दलका कर्याकर्तासंग जुधेर थापना गराइछोडेका चौधरी भुटानीको सालिक थापना गर्न नपाउँदा निकै आक्रोशित भए । भुटानीको सालिक अनावरण गर्दासमेतऊनी डाँको छोडेर रोए । नीर शाहको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा राजेन्द्र थापा पनि निकै भावुक भएका थिए । राजेन्द्र खड्गी र रेशमलाई द्वन्द सिकाउने गुरु भएरहोला रेशम रोएको देखेपछि खड्गीले टिकापुरमा भातै खाएनन् । देशभरका सबै कलाकारले भिम रावलको दबदबा टिकापुरमा त्यसबेलै देखेका बुझेका थिए । आफ्नो दमनमा नचले बाँच्न पनि कठिन हुन्छ भन्ने उनको हुंकार हिजोदेखी आजसम्म छ । सायद रावलको नियन्त्रणमा चौधरी नचलेकोले पनि होला आज उनको हविगत झ्यालखानाको छ । तर चौधरी हार खाँदैनन्,टिकापुरतिर त भनाइ नै छ – रेशमले जे बोल्छ त्यो गर्छ । चौधरीले चाहेको खण्डमा कर्णालीको पानी पनि उल्टो बग्छ । उनको यो हविगत हुनुमा नगल्ने,गलत सम्झौता नगर्ने नियति पनि एउटा कारण होला ।

किन निभ्छ बत्ती टिकापुरमा  ?

पाँचबर्ष भयो कैलालीका थारुहरुले बत्ति निभाएको । पहिलेपहिले डर र सन्त्रासका बिचमा बत्ती निभ्थ्यो आजभोलि अडानका साथमा अपमानबोध महसुसले बत्ति निभ्छ । कैलाली टिकापुरको थारुलाई मात्रै थाहा छ,तिन्ले के भोगे,के भोगेनन् । अफनत्वको खोजीमा भौँतारिदा थरुहट आन्दोलन भेटेका थारुहरुले एकपटक डार्‍हा किटेरै भएपनि सहे । २०२१ साल जस्तो दाङ छारा गरेर बुर्‍हान,भौँरा,मल्ह्वाराको घना जङ्गलमा लुक्नका लागि सोचेनन् । हिजो उनिहरुसंग ढाडस दिनेसम्म पनि कोही थिएनन् तर यसपटक आडकालागि भएपनि राजनैतिक दलहरू थिए ।

अर्काको भावना नबुझ्ने नेता हुन सक्दैनन् । नेताले आफ्नो र अर्को भन्दैन । सबैको भावनाको सम्मान गर्नुनै महानता हो । गल्तीको प्रकृति छुट्ट्याउनुपर्छ । ब्यक्तिगत रिसिईबिलाइ माफिदिन सकिदैन तर सामुदायिक हक र अधिकारको लागि लड्नु प्रत्येक नागरिकको नैर्सर्गिक अधिकार हो । थारुहरुले ब्यक्तिगत दुश्मनी साँधेका होइनन् त्यसो भैदिए अहिलेसम्म देश शान्त र स्थिर हुनेथिएन । हक र अधिकारको लडाइ तब लडिन्छ जब आफुमाथी हैकम चल्नथाल्छ । बिरालोले घाँटीमा तब चिथोर्छ जब उ असुरक्षित महसुस गर्छ । कुरा बेलैमा बुझ्नुलाई नै सुझबुझवाला भनिन्छ । सुझबुझको कुर्सीमा बस्नेले सुझबुझले न्याय दिनुपर्छ । बेलैमा न्याय नपाए दुर्घटना कल्पना र सपना होइन यथार्थ बन्नपुग्छ ।

मलाई सम्झना छ,त्यही टिकापुरको मंचबाटै कवि राजेन्द्र थापाले बिदाहुँदै भनेका थिए –

बेहोसपछि त होसमा आउँदा क्या दामी भो
यहाँ पिउने म पिलाउनेको पो क्या बदनामी भो

एउटाले गरेको गल्तीको बदनामी प्रधानमन्त्रीले किन बेहोर्ने रु अपजस प्रचण्डले किन लिने रु आफ्नो बोझ अर्काको थाप्लोमा किन हालिदिने गृहमन्त्री ज्यु रु समस्याको समाधान गरौँ र भुमिपुत्रको सम्मान गरौँ ।

सर्वसम्मत संविधान मात्रै जनताको हो,कागजमा लेखिएका अक्षरहरु पुनः सुधार्न सकिन्छन् तर जनताको मन हो,मन टुटे सुन गलाएर पनि जोड्न सकिन्न । उनै थारुनेता रेशम चौधरीले धनगढीको मंचबाटै सुदुरपश्चिमका नेताहरूलाई सुझाव दिँदै देउडा गाएका थिए –

झिक्क मैले गोरा देख्याँ झिक्क मैले काला देख्याँ
जैका भित्त सबै कालो उइकै गोरो छाला देख्याँ

थारुहरु काला छन् र पनि मन गोरो छ । पहाडीहरु गोरो छौँ र मनपनि गोरो बनाऔँ । टिकापुरको समस्या साझा हो भन्ने सबैले बुझौं । अस्तु ।

प्रतिकृया

प्रतिकृया