काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी–२० विश्वकपमा तुलनात्मक रुपमा व्याटिङ कमजोर देखिएको बताएका छन् ।
नेपाल क्रिकेट संघले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा कप्तान पौडेलले बलिङ्मा नेपालले धेरै राम्रो गरेपनि विश्वकपमा तुलनात्मक रुपमा व्याटिङ कमजोर देखिएको बताएका हुन् । यद्दपी उनले पिचको कन्डिसनले पनि ब्याट्सम्यानले चाहेजस्तो प्रदर्शन गर्न नसकेको जिकिर गरे ।
आईसीसी टी–२० विश्वकप अन्तर्गतका अन्य खेलहरुमा पनि पिचकै कारण धेरै रन बन्न नसकेको उनको भनाइ छ । उनले भने, ‘अमेरिका र वेष्ट इण्डिजका कतिपय खेलमा पनि उच्च स्कोरको खेल भइरहेको छैन । ब्याट्सम्यानका लागि चुनौतीपूर्ण थियो । सबै टोलीलाई १२० रन ल्याउन पनि मुस्किल भइरहेको थियो ।त्यसैले ब्याट्सम्यानलाई मात्रै दोष दिएर हुँदैन । ’
कप्तान पौडेलले दक्षिण अफ्रिकाविरुद्धको खेलमा जितको नजिक पुगेर अन्तिम रन बनाउन नसक्दा निकै दुःख लागेको बताए । उनले फिल्डिङ्मा पनि केही समस्या देखिएको स्वीकार गरे ।
‘पहिलो खेलमा नेदरल्याण्डविरुद्ध हामीले राम्रो चुनौती दियौँ । दोस्रो खेलमा दक्षिण अफ्रिकासँग जित्नुपर्ने थियो । त्यो मिस हुन पुग्यो । बंगलादेशसँगको खेलमा ब्याटिङ युनिट, विशेष गरी टप अडरले जिम्मेवारी लिन सकेनौँ ।’ उनले भने, ‘समग्रमा प्रतियोगितामा बलरले एकदमै राम्रो प्रदर्शन गरे । जुन सकारात्मक हो । फिल्डिङमा केही सुधार गर्न सकिन्थ्यो ।’
नेपाली टिमलाई अनुभवको धेरै खाँचो रहेकाले आगामी दिनमा बलियो राष्ट्रहरुसंग खेल्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । उनले आईसीसी टी–२० विश्वकपसम्म पुग्दा नेपालले धेरै कुरा सिक्ने मौका पाएको भन्दै आगामी दिनमा राम्रो क्रिकेट खेल्ने धारणा राखे ।



























































