हेटौंडा – नेपाली कांग्रेससंग नयाँ सत्ता समीकरणको सहमतीसंगै नेकपा एमालेले बागमती प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ ।


ADVERTISEMENT


केन्द्रीय गठबन्धनमा आएको फेरबदलको असरस्वरुप एमालेले प्रदेशबाट पनि बहिरिने तयारी थालेको छ । एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने भएका छन् ।


ADVERTISEMENT

# # #


चार महिनाअघि चैत १७ गते माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा एमाले दोस्रोपटक सहभागी भएको थियो । तर, पुनः कांग्रेस र एमालेको सहमतिपछि एमालेले सरकार छाड्ने भएको हो ।

नेपाल प्रेससँग कुरा गर्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले आज साँझसम्म सरकारबाट बाहिरिने आफूहरूको तयारी रहेको बताए ।

उनले भने, ‘पार्टीको केन्द्रीय नीतिअनुसार हामीले सकेसम्म आज नै सरकारबाट बाहिरिने तयारी गरेका छौँ । आफूहरू अहिले काठमाडौंमा रहेको र मुख्यमन्त्री जम्कट्टेल पनि काठमाडौं रहेकोले साँझसम्म हेटौंडा फर्किएर सामूहिक राजीनामा दिने उनले बताए ।

‘मुख्यमन्त्रीज्यूलाई काठमाडौंमै राजीनामा बुझाउने विषयमा कुरा भएको थियो । तर, मुख्यमन्त्रीकै कार्यालयमा आएर प्रक्रिया पूरा गर्न उहाँले अनुरोध गर्नुभएकाले हामी हेटौंडा जाने तयारीमा छौं’, थपलियाले भने ।

बागमतीमा थपलियासहित एमालेका पाँचजना मन्त्री छन् । अन्य मन्त्रीमा उघोग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ , वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकलाल श्रेष्ठ छन् ।