एजेन्सी – भारतीय पूर्व क्रिकेटर गौतम गम्भीरलाई भारतीय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका सचिव जय शाहले मंगलबार गौतमलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको घोषणा गरेका हुन् ।
उनले सामाजिक सञ्जाल एक्स पोष्टमार्फत उक्त जानकारी दिएका हुन् । भारतीय क्रिकेटका पर्खालका रुपमा चिनिने ४२ वर्षीय गौतमले राहुल द्रविडको स्थान लिनेछन्। टि–२० विश्वकपपछि द्रविडको कार्यकाल सकिएको थियो ।
गम्भीरले डेढ महिनाअघि कोलकाता नाइट राइडर्स (केकेआर) लाई आईपीएल–२०२४ को च्याम्पियन बनाएका थिए । उनी यसै वर्ष कोलकाता फ्रेन्चाइजीका मेन्टर बनेका थिए । यति मात्र होइन, आफ्नो कार्यकालमा गौतमले लखनउ सुपरजायन्ट्सलाई लगातार दुई सिजन प्लेअफमा पुर्याएका थिए ।
गम्भीरसँग प्रशिक्षणको अनुभव छैन
४२ वर्षीय गम्भीरसँग अन्तर्राष्ट्रिय वा घरेलु स्तरमा प्रशिक्षणको अनुभव भने छैन, उनी दुई आईपीएल फ्रेन्चाइजीमा कोचिङ स्टाफको जिम्मेवारी सम्हालेका छन्।
उनी आईपीएल २०२२ र २०२३ मा लखनऊ सुपर जायन्ट्सका मेन्टर थिए। उनी २०२४ सिजनमा केकेआरमा आएका थिए । गम्भीरले एलएसजीमा बसेको पहिलो दुई सत्रमा टोलीलाई प्लेअफमा पुर्याएका थिए।
उनले केकेआरलाई भने च्याम्पियन बनाएका थिए ।



























































