काठमाडौँ – प्रधानमन्त्री पुष्पकम दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत गुमाएका हुन् । यससँगै उनी पदमुक्त समेत भएका छन् ।
कूल २७५ जना सांसद रहेको शुक्रबार प्रतिनिधिसभाको बैठकमा २५८ जना सांसद उपस्थित थिए । जसमध्ये प्रधानमन्त्रीद्वारा नेपालको संविधान २०७२ को धारा १०० को उपधारा (२) बमोजिम प्रस्तुत प्रस्तावको पक्षमा ६३ जनाले मत दिएका छन् । यस्तै उनको प्रस्तावको विपक्षमा १९४ जना सांसदले मतदान गरेका छन् । १ जना सांसद तटस्थ रहेका छन् ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले पाएको मत प्रतिनिधिसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत नुगेकाले प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा गरे । यससँगै करिब १८ महिना १८ दिनमै प्रचण्ड सरकार ढलेको छ भने नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्ड यसअघि २०७९ पुस १० गते नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका थिए । त्यसयता समय समयमा गठबन्धन परिवर्तन गर्दा ५ पटक प्रतिनिधिसभामा विश्वासको मत लिए । जसमध्ये पहिलो पटक विसं. २०७६ पुन २६ मा प्रधानमन्त्रीले ९७ प्रतिशत बढी अर्थात् २७५ मध्ये २६८ मत पाएका थिए ।
यस्तै एमालेसँगको गठबन्धन त्यागी काँग्रेससँग सत्ता साझेदार गरेपछि दोस्रोपटक विसं २०७९ चैत्र ५ मा २७५ मध्ये १७२ मत पाएका थिए । काँग्रेसलाई छोडेर पुनः एमालेसँग सहकार्य गरेका प्रधानमन्त्री प्रचण्डले २०८० फागुन ३० गते १५७ मत पाएका थिए भने जसपा विभाजन भएपछि गत जेठ ७ गते चौथो पटक विश्वासको मत लिएका उनले पुनः १५७ मत पाएर सत्ता जोगाएका थिए ।
यसपटक भने उनलाई उनको आफ्नै दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका सांसदले मात्रै साथ दिएका हुन् ।



























































