काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असफल भएपछि प्रचण्ड पदमुक्त भएका हुन् ।


ADVERTISEMENT


बैठकमा उपस्थित २५८ मध्ये प्रचण्डको पक्षमा ६३ मत मात्र परेको छ भने विपक्षमा १ सय ९४ मत परेको छ । त्यस्तै नेमकिपाका एक सांसद तटस्थ रहेका थिए ।कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि सातबुँदे सहमतिपछि अल्पमतमा परेका प्रचण्डले शुक्रबार संसदमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गरेका थिए ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले विश्वासको मत नपाएसँगै नयाँ सरकार गठनको बाटो खुला भएको छ ।

नेपाली काँग्रेसले नयाँ सरकारका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीलाई प्रधानमन्त्रीका लागि अघि सार्ने निर्णय गरिसकेकाले सोही अनुसार अघि बढ्ने काँग्रेस प्रवक्ता प्रकाश शरण महतले बताए ।

प्रधानमन्त्रीले विश्वासको मत नपाएकाले संविधानको धारा ७६(३) अनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतले काँग्रेसले सरकारमा दाबी नगर्ने उनको भनाई छ । उनले भने, ‘हामी सहमतिप्रति प्रतिवद्ध छौँ । सोही अनुसार पार्टीमा छलफल गरेर हामी चाँडै जान्छौँ ।’

संसद्को सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो एमालेले यही असार १७ गते आलोपालो सरकारको नेतृत्व लिनेगरी नयाँ सरकार गठनको सहमति गरेका छन् । सोही अनुसार पहिलो चरणमा ओली प्रधानमन्त्री बन्ने सहमति छ ।