काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत हुन निर्देशन दिएका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी परिसर काठमाडौँको काठमाडौँ महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता मच्चाउन खोज्ने प्रयासप्रति हरदम सचेत भएर जनतालाई शान्ति सुरक्षा दिने मामिलामा दृढताका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिए ।


ADVERTISEMENT

# # #


मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वानुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्नुपर्ने उनले बताए ।

वर्तमान सरकार देश र जनताको पक्षमा केही गरौँ भन्ने भावनाका साथ गठन भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संविधान र कानुनबमोजिम कर्तव्य निर्वाह गर्न उन्नत ज्ञानको प्रयोग गरी जनतालाई गुणस्तरीय सेवा प्रदानमा जोड दिए । प्रहरीमा बढुवा र सरुवाका लागि कुनै दौडधुप गर्न नपर्ने उल्लेख गर्दै उहाले कर्तव्यपालनमा पूर्ण स्वतन्त्र भएर ढुक्कले लाग्न आग्रह गरे ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोकेर काम गर्न निर्देशन दिए । सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजना सहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले जनाए । नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए ।

प्रहरीले साबिकको नेपाल खाद्य संस्थानसँग रु एक अर्ब १० करोडमा १५ रोपनी जग्गा खरिद गरेर रु एक अर्ब २६ करोडको लागतमा अत्याधुनिक भवन निर्माण गरेको हो । जिल्ला परिसर काठमाडौँ २०१२ सालमा हुनमानढोकाबाट सञ्चालन भएको थियो ।