काठमाडौँ – थाइल्यान्डमा हुने भनिएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलन स्थगित भएको छ । बिमस्टेक सम्मेलन यही भदौ १८ र १९ मा हुने हुने त भएको थियो ।


ADVERTISEMENT


तर, थाइल्याण्डमा भएको राजनीतिक परिवर्तनसँगै बिमस्टेक सम्मेलन स्थगित गरिएको थाइ विदेश मन्त्रालयले जनाएको छ । नयाँ सरकार गठन नहुँदासम्मका लागि स्थगित गरिएको थाइल्यान्डका विदेशमन्त्रीले जनाएका छन् ।


ADVERTISEMENT

# # #


थाइल्याण्डमा हाल एक कामचलाउ सरकार छ । अदालतले स्रेत्था थाभिसिनलाई गत हप्ता प्रधानमन्त्रीको पदबाट बर्खास्त गरेको थियो । उनको उत्तराधिकारीका रुमा प्रधानमन्त्रीमा चुनिएकी पाएटोङ्टार्न सिनावात्राले मन्त्रिपरिषद् विस्तार गर्नै बाँकी छ ।

यस्तै बंगलादेशमा हालै भएको राजनीतिक परिवर्तन, श्रीलंकाको प्रधानमन्त्री निर्वाचन र म्यानमारमा जारी अन्तरसंघर्षका कारण पनि शिखर सम्मेलन आयोजना गर्न नसकिने देखिएपछि स्थगित गरिएको जानकारी थाइल्याण्डले सदस्य राष्ट्रहरुलाई दिएको छ ।

शिखर सम्मेलन स्थगित भएसँगै प्रधानमन्त्री केपी शर्माओलीको थाइल्याण्ड भ्रमण पनि स्थगित भएको छ । बिमस्टेकमा थाइल्याण्ड, भारत, म्यानमार, बंगलादेश, नेपाल, श्रीलंका र भुटान रहेका छन् र यसका नेताहरू प्रत्येक दुई वर्षमा शिखर सम्मेलनका लागि भेला हुन्छन्।

प्रधानमन्त्री ओली बिमस्टेकमा भाग लिने थाइल्याण्ड जाने तालिका थियो । सोही यात्रालाई उनले औपचारिक भ्रमणमा परिणत गर्ने योजना बनाएका थिए । अब प्रधानमन्त्री ओलीको विदेश भ्रमण अमेरिकाबाटै सुरु हुने देखिएको छ ।

सेप्टेम्बर तेस्रो साता संयुक्त राष्ट्र संघको महासभा हुँदैछ । जहाँ नेपालको तर्फबाट प्रधानमन्त्री ओलीले भाग लिनेछन् ।