काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले प्रश्न उठाएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताएका छन् ।
शुक्रबार राज्य व्यवस्था समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मुलुकको हितमा नरहेका बिषयहरुलाई अघि बढाउन खोज्दा जनस्तरबाट व्यापक विरोध भएपछि हदम्यादको प्रस्ताव हट्न सफल भएको बताएका हुन् । उनले हदम्यादको विरुद्ध जनताले उठाएका विषयलाई आफूहरुले सदनमार्फत ध्यानाकर्षण समेत गराएको जिकिर गरे ।
उनले भने, ‘उहाँहरुको विश्वास जनतालाई भएन । मानिसहरुले क्याम्पेन सुरु गरे । प्रश्न उठेपछि हामीले पनि हामी छौँ, हामी हुन्जेल हदम्याद राख्ने विषय हुन दिँदैनौँ भन्यौँ । त्यही कुरा हो ।’
ऐनमा स्पष्ट भएका विषयलाई मन्त्रीपरिषद्बाट पारित गराइ हुने नीतिगत भ्रष्टाचारलाई पनि रोक्नुपर्ने उनले बताए । यसका लागि भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई थप स्पष्टताका साथ अघि बढाउनुपर्ने उनको भनाई छ ।
उनले विधेयकमाथिको अन्य नितिगत कुरामा पनि निरन्तर रास्वपाको खवरदारी रहने उल्लेख गरे ।



























































