काठमाडोँ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूमाथि छानबिन गर्न सरकारलार्ई चुनौती दिएका छन् ।
सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्धबिच्छेद भएपनि अझै सहकारी प्रकरणमा आफ्नो नाम बारम्बार ज्योतिसंग जोडिएकोप्रति आपत्ति जनाउदैँ आफूमाथि छानबिन गर्न माग गरेका हुन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पत्नी ज्योति गुरुङ मितेरी सहकारीको ठगी प्रकरणमा दोषी रहेको भन्दै कांग्रेस नेता धनराज गुरुङमाथि छानबिन गर्न माग गरेका थिए ।
त्यसको प्रतिउत्तरमा आज बसेको बैठकमा गुरुङले भने, ‘संसदीय छानबिनका लागि पनि म तयार छु, मेरो लागि यो सुवर्ण अवसर हुनेछ ।’ आफू कुनै पनि व्यक्तिलाई आरोपबाट उन्मुक्ति दिनुहुन्न भन्ने मान्यतामा अडिग रहेको उनको भनाई छ ।
गुरुङले निकै अघिदेखि सम्बन्ध बिग्रिएर २०७६ सालमा श्रीमती ज्योती गुरुङसंग सम्बन्ध बिच्छेद गरेको जिकिर गरे । उनले आफुले निकै अघि श्रीमतीसंग सम्बन्धबिच्छेद गरेकाले सम्बन्ध विच्छेद भएकी श्रीमतीले गरेको दोषमा आफू भागिदार नहुने उनले जनाए ।
साथै श्रीमतीसंग नक्कली सम्बन्ध विच्छेद गरेको कुरा पनि नियोजित रुपमा आएको कुराको खण्डन गदै गुरुङले सम्बन्ध विच्छेद नक्कली प्रमाणित गर्न समेत चुनौती दिए ।
उनले विगतमा पनि कुनै आरोप लाग्दा निर्दोष सावित भएको समेत स्मरण गराए । गुरुङमाथि मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लागेको छ ।


























































