काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने सरकारको निर्णयको विरोध गरेको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा माओवादीका सांसदहरुले सोको विरोध गर्दै आफूहरु सरकारको यस निर्णयको विपक्षमा रहेको बताए ।
बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘‘माननीय इन्दिरा रानालाई हटाउने कुरा आजका मिडियामा आएको छ । यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तीव्र प्रतिवाद गर्दछ, विरोध गर्दछ’, उनले भने । यो विषयमा स्पष्ट गर्न सत्तारुढ दलहरूलाई उनले आग्रह समेत गरे ।
यस्तै, माओवादीका अर्का सांसद सूर्यमान तामाङले पनि उपसभामुखमाथि नैतिकताको प्रश्न उठाउनुअघि नक्कली भुटानी शरणार्थी प्रकरणलाई हेर्न सरकारलाई सुझाए ।
प्रतिनिधि सभाको बैठकमा एमालेका सांसदहरूले उपसभामुख रानाको राजीनामा मागेका छन् । राजीनामा नदिए पद अनुकुलको आचरण नगरेको भनेर हटाउन बाध्य हुने एमाले सांसदहरूको चेतावनी छ ।
सत्तारुढ दलले उपसभामुखको राजीनामा नै मागेपछि विपक्षी दलहरूले विरोध गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले पनि सरकारको यस निर्णयको विरोध गरेका छन् ।
यस सन्दर्भमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने कुरा मान्य नहुने बताए । यसैगरि रास्वपाकै सांसदहरू सुमना श्रेष्ठ र सोबिता गौतमले उपसभामुखलाई हतोत्साहित नबनाउन आग्रह समेत गरे ।


























































