काठमाडौँ– भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ ।


ADVERTISEMENT


उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार पार्ने तथा परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको हो ।


ADVERTISEMENT

# # #


परामर्शदाताले नेपालको आवश्यकता अनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माणलाई अघि बढाउने सहमति भएको अर्थमन्त्री पौडेलले जानकारी दिए। नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधासहित अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण आवश्यक भएकाले वीर अस्पताललाई थप विस्तार गर्न लागिएको उनले बताए ।

स्वास्थ्य मन्त्री पौडेलले परामर्शदाता छनोट भई विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने जनाए । बैठकमा निर्माण सम्पन्न भई सञ्चालन हुन बाँकी रहेका आधारभूत अस्पतालहरुको सञ्चालन, स्वास्थ्य बीमालगायतक विषयमा छलफल भएको थियो ।

विसं २०७३ मा सरकारले भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माणका लागि करिब सात सय रोपनी जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।