काठमाडौं – शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले जारी पुँजीको २० प्रतिशत साधारण शेयर आईपीओ सर्वसाधारणमा निष्कासन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।
यससम्बन्धी सम्झौतापत्रमा शुभ इन्टरनेशनल हस्पिटालिटीका अध्यक्ष कविन श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कम्पनीका प्रतिनिधि विकास चौधरी तथा सञ्चालक प्रशान्त तातेडको पनि उपस्थिति रहेको थियो।
शुभ इन्टरनेशनल हस्पिटालिटीले विराटनगरको धरान रोडस्थित अन्तर्राष्ट्रियस्तरको पाँचतारे होटल सञ्चालन गरिरहेको छ। भारतको प्रतिष्ठित लेमन ट्री होटल्स समूहअन्तर्गतको कार्नेशन होटल्स प्रालिसँगको व्यवस्थापन साझेदारीमा सञ्चालित यो होटल विराटनगरको पहिलो अन्तर्राष्ट्रिय ब्रान्डअन्तर्गत सञ्चालन भएको पाँचतारे होटल हो।
कम्पनीले व्यवसायिक यात्रु, स्वदेशी तथा विदेशी पर्यटक, सम्मेलन, विवाह तथा अन्य विशेष कार्यक्रमका लागि अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्दै पर्यटन तथा आतिथ्य क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य लिएको जनाएको छ। साथै, भविष्यमा क्यासिनो सञ्चालन गर्ने योजना पनि कम्पनीले सार्वजनिक गरेको छ।



























































