काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापन तथा उद्धार कार्यमा प्रयोग हुने सामग्री हस्तान्तरण गरेको छ।
असार १२ गते सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई उद्धार सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा सशस्त्र प्रहरीका उच्च अधिकारी तथा कम्पनीका प्रमुख बजार अधिकृत गणेश चौलागाई र बालाजु शाखा प्रमुख मदन खतिवडा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा अतिरिक्त महानिरीक्षक ठाडा मगरले प्राप्त सामग्रीले विपद् उद्धार टोलीको कार्यक्षमता बढाउनुका साथै कठिन परिस्थितिमा नागरिकको ज्यान जोगाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कम्पनीलाई धन्यवाद दिएका छन्।
त्यसैगरी, निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तथा उद्धारमा अग्रपङ्क्तिमा रहने सुरक्षा निकाय भएकाले आपतकालीन जोखिम व्यवस्थापन र पूर्वतयारीलाई सुदृढ बनाउन सहयोगस्वरूप सामग्री उपलब्ध गराइएको बताएका छन्।
हाल सन नेपाल लाइफले देशभरका १५० शाखा तथा उपशाखामार्फत जीवन बीमा सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, जोखिम व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



























































