काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्सले चर्चित अष्ट्रेलियन अलराउन्डर बेन कटिङलाई भित्र्याएको छ । अष्ट्रेलियाका ३७ वर्षीय दायाँ हाते अलराण्डर कटिङलाई लुम्बिनीले दोस्रो विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको हो ।
बलियो ब्याटिङ र प्रभावकारी मिडियम पेस बलिङका लागि परिचित कटिङको अन्तर्राष्ट्रिय अनुभव र बहुमुखी क्षमताले टिमलाई झनै बलियो बनाउने अपेक्षा लुम्बिनीले अपेक्षा गरेको छ ।
अष्ट्रेलियाको राष्ट्रिय टोलीका लागि सन् २०१३ मा डेब्यू गरेका कटिङले आफ्नो करियरमा विश्वभरका टी–२० लिगहरूमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनले इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बाश लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल) र क्यारिबियन प्रिमियर लिग (सीपीएल) जस्ता ठूला फ्रेन्चाइजहरूमा सहभागी भएका छन् ।
विशेष गरी २०१६ को आईपीएल फाइनलमा सनराइजर्स हैदराबादलाई उपाधि जिताउन उनले देखाएको उत्कृष्ट प्रदर्शन क्रिकेटप्रेमीहरुमाझ अहिलेसम्म पनि ताजा छ । लामो छक्का हान्ने क्षमता र चुनौती पूर्ण अवस्थामा पनि बलिङ गर्न सक्ने उनको खुबीले उनलाई कुनै पनि टी( २० टिमको लागि एउटा अमूल्य खेलाडी बनाएको छ ।
लुम्बिनी लायन्ससँगको सम्झौतापछि उत्साहित हुँदै बेन कटिङले भने, “नेपाल प्रिमियर लिगको यो पहिलो सिजनको हिस्सा हुन पाउँदा र विशेषगरी लुम्बिनी लायन्समा सामेल हुन पाउँदा म निकै उत्साहित छु । लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि जिताउन अर्थपूर्ण योगदान पुऱ्याउने मेरो लक्ष्य रहेको छ।”
लुम्बिनी लायन्स क्लबका मालिक ईश्वर जिसीले कटिङको आगमनसँगै टोली थप बलियो हुने विश्वास व्यक्त गरे । उनले भने, “बेन कटिङलाई हाम्रो टिममा स्वागत गर्न पाउँदा निकै खुसी छौं । उनको अन्तर्राष्ट्रिय अनुभव र अलराउन्ड क्षमताले एनपीएलको यस पहिलो सिजनमा नै उपाधि जित्ने हाम्रो लक्ष्य प्राप्तीलाई थप बलियो बनाएको छ ।”
आफ्नो करियरभर बेन कटिङले आफूलाई टी–२० फर्म्याटमा एक विश्वसनीय अलराउन्डरको रूपमा स्थापित गरेका छन् । उनले १७० भन्दा बढी टी– २० खेल खेलेका छन् जसमा २००० भन्दा बढी रन बनाएका छन् भने उनको स्ट्राइक रेट १५० भन्दा माथि रहेको छ । साथै बलिङतर्फ उनले १२६ विकेट लिएका छन् भने उनको इकनोमी रेट ८.५३ रहेको छ ।
रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले यसअघि इंगल्याण्डका टम मूर्सलाई अनुबन्ध गरेको थियो । ८ फ्रेन्चाइजी टिमहरू रहेको नेपाल प्रिमियर लिग २०२४ मंसिर १५ गतेबाट सुरु भएर पुष ६ गतेसम्म चल्नेछ ।


























































